काठमाडौं, ८ पुस । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी उहाँकै देश फ्रान्स पठाउने तयारी गरिएको छ । अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
स्रोतका अनुसार नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स फर्काउनेबारे अध्यागमनका अधिकारीहरुले गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग परामर्श पनि गरेका थिए । गृहका अधिकारीहरुले कानुनमा भएको व्यवस्था अनुसार गर्न परामर्श दिएका थिए । सोही आधारमा शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी स्वदेश फर्काउने तयारी अध्यागमन विभागले गरेको हो । केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।
सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । उनलाई केन्द्रीय कारागारबाट बिहीबारै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो । तर उनी रिहा हुन मानेनन् र बिहीबार केन्द्रीय कारागारमै बसे ।
शोभराजलाई कानुनी सहयोग गरिरहेका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनका अनुसार उहाँलाई शुक्रबार आज अध्यागमन विभागमा लगिंदैछ । शोभराजले भने केही समय नेपालमै बस्ने इच्छा व्यक्त गर्नूभएको कछ । फ्रान्सबाट आएका आफन्तहरुसँग होटल हायातमा बस्ने र मुटुको उपचार गराउने भन्दै उहाँले त्यसको प्रबन्ध मिलाइदिन नेपाल सरकारसमक्ष अनुरोध गरेको स्रोतले बतायो ।













प्रतिक्रिया दिनुहोस्