काठमाडौं, १० पुस । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदै छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिले आज अपराह्न ५ बजेसम्मको समय दलहरूलाई दिनुभएको थियो ।
पुस ३ गते राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि दलको बहुमत नभएको हुँदा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्तिको लागि राष्ट्रपति समक्ष दाबी गर्न आज अपराह्न ५ बजेसम्मको समय दिइएको उल्लेख गरिएको थियो ।राष्ट्रपतिले उपलब्ध गराएको समय सीमा आज सकिँदै गर्दा पनि दलहरू बिच सहमति बन्न सकेको छैन । सत्ता गठबन्धनकै सरकार बनाउने भन्दै लागिरहेको गठबन्धनका दलहरू सरकारको नेतृत्व कसले गर्नै भन्नेमै अड्किएका छन् ।पहिलो चरणमा प्रधानमन्त्रीमा कांग्रेस र माओवादी दुवैले अडान कायमै राखिरहेका छन् । जसका कारण लगातार दुई दिनको छलफलले कुनै निकास दिन सकेन ।
आज सहमति नभए के हुन्छ ?
दलहरूलाई राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय सीमा आज सकिँदै छ । दलहरूसँग कि आज सहमति गरिसक्नु पर्ने वा राष्ट्रपति समक्ष समय थप माग्नु पर्ने दुई विकल्प छन् । यी दुवै नभए राष्ट्रपति कार्यालयबाट अपराह्न ५ बजे पछि अर्को विज्ञप्ति जारी हुने छ ।
संविधानको ७६ को उपधारा १ अनुसार कुनै पनि दलको बहुमत नभएको हुँदा उपधारा २ अनुसार पनि सरकार बनाउन नसके उपधारा ३ अनुसार सरकार बन्न सक्छ । उपधारा ३ मा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ९४० बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ । यो उपधारमा टेक्दा शेरबहादुर देउवा प्रधानमन्त्री हुने छन् । उनले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।













प्रतिक्रिया दिनुहोस्