जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार ०७:३१

यसकारण प्रभुले खोले पार्टी


काठमाडौं, १५ पुस । नेकपा एमाले छाडेको साढे दुई महिनापछि प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएको छ । काठमाडौंमा एक बैठक गर्दै उनले ५१ सदस्यिय केन्द्रीय तदर्थ समिति गठन गर्नुभएको छ । तदर्थ समितिको बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ।

‘विश्वभरका आम जनता एक हौं’ भन्ने प्रगतिशिल विचारमा आधारित पार्टी गठन गर्नुभएको हो । स्वतन्त्र सांसदको रूपमा राजनीति वृत्तमा शक्तिशाली नभएपछि उनले शक्ति आर्जन गरेर सरकारमा जान ‘सौदाबाजी’ गर्न आम जनता पार्टी गठन गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘कुनै पनि राजनीतिक दल संगठित स्वरुपमा भए विभिन्न शक्तिसँग सौदाबाजी गर्ने क्षमता बढ्छ। राजनीतिमा संगठित शक्तिले महत्व राख्छ। त्यसै कडिको रूपमा यसलाई लिन सकिन्छ।’ मंसिर ४ को चुनावमा एमाले छोड्दै साह समूहबाट केहीले प्रतिनिधिसभा र प्रदेश सभामा विजयी हुनुभएको छ ।