जनता टाइम्स

१९ पुष २०७९, मंगलवार १५:२३

छाडा कुकुर घटाउन स्थायी बन्ध्याकरण अभियान


बुटवल, १९ पुस । तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक छाडा कुकुरको स्थायी बन्ध्याकरण अभियान सम्पन्न गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा पक्लिहवा कृषि तथा पशु अध्ययन क्याम्पसका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रीकल्चरको प्राविधिक सहयोगमा तीन दिनमा ८० वटा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो ।

नगरपालिका कार्यालय परिसरमा मंगलबार औपचारिक कार्यक्रम गरी कुकुरको स्थायी बन्ध्याकरण शल्यक्रियामा प्राविधिक सहयोग गर्ने चिकित्सकहरू डा. केशव लम्साल, डा. विरेन्द्र श्रेष्ठ, डा. गंगाप्रसाद यादवसहित सहयोगी संस्थाहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले समुदायमा संचालन गरिने विकास निर्माणको कार्यहरूलाई एकीकृत योजना बनाई अघि बढाउनुपर्ने बताउनुभयो ।

सामुदायिक छाडा कुकुरको नियन्त्रणको अभियान थालनी गरेको भन्दै यसमा छिमेकी पालिकाहरुको सहकार्य जारी रहने उहाँले बताउनुभयो । ‘स्थानीय तहहरू मिलेर साझा मुद्दामा एकताबद्ध भई काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो । छाडा चौपाया, सामुदायिक कुकुर, फोहोर व्यवस्थापन, वातावरण संरक्षण जस्ता विषयमा एकीकृत योजना बनाएर अघि बढ्न जरुरी रहेको उहाँले बताउनुभयो ।

बजार क्षेत्रमा कुकुरको संख्या बढ्दा नगर अब्यवस्थित हुनुको साथै विभिन्न रोग लाग्ने जोखिम बढेपछि अभियान चलाएको खाणको भनाइ छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सिमित बजेटमा नमूना काम भएको बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरमा धेरै छाडा पशुको समस्या रहेको बताउनुभयो । समुदायबाट कुकुरको व्यवस्थापनको दबाब आइरहेको बेला बन्ध्याकरण राम्रो विकल्प भएको उहाँले दाबी गर्नुभयो । नगरपालिकाका सबै वडा कार्यालयहरूको समन्वयमा बन्ध्याकरण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।