जनता टाइम्स

२३ पुष २०७९, शनिबार ०८:११

कांग्रेस संसदीय दलको पहिलो बैठक बस्दै


काठमाडौं, २३ पुस । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिनुभएको छ ।

वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । संसदीय दलको बैठक अघि शुक्रबार साँझ पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल गर्नुभएको थियो । सभापति देउवाले बोलाएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।

बैठकमा आगामी संसद् बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने–नदिनेलगायत विषयमा छलफल हुनेछ । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो अधिवेशन यही पुस २५ गते सुरु हुँदै छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले ८९ सिट जितेर प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्थामा पुगेको छ । संघीय ससंद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा (एमाले)लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री दाहालले यही पुस २६ गते विश्वासको मत लिने तय भएको छ ।