जनता टाइम्स

२७ पुष २०७९, बुधबार १९:०७

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त


दाङ, पुस २७ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । सत्ता गठबन्धनसहित लोसपाका ३ र स्वतन्त्र २ सांसद गरी गिरीलाई ५८ जनाको समर्थन रहेको छ ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३र३, सीट छन् । नागरिक उन्मुक्तिसँग ४ सीट र स्वतन्त्र २ जना सांसद रहेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ सदस्य छन् । नवनियुक्त मुख्यमन्त्री गिरको बिहीबार प्रदेश राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे शपथको कार्यक्रम तय भएको छ ।

बाल्यकालदेखिकै राजनीतिप्रतिको जागरण, समर्पण, निष्ठा र इमान्दारिताले गिरीलाई जीवनको उत्तरार्द्धमा प्रदेशको मुख्यमन्त्री पदमा पुर्याएको हो । मुख्यमन्त्रीमा पुग्नुअघि उहाँले पार्टीका विद्यार्थी संगठनदेखि नगर, जिल्ला, प्रदेशका राजनीतिक पदको नेतृत्व गरिसक्नु भएको छ । प्रदेशमा मन्त्रीको अनुभवपछि उहाँ मुख्यमन्त्री बन्न सफल हुनुभएको हो ।

गुल्मीको रुरु गाउँपालिका–५, बम्घा सौरिवोटमा २०११ साल चैत १४ मा जन्मिनु भएका गिरी २०३४ सालदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगरमा बसाइँ सर्नुभएको थियो ।