जनता टाइम्स

३० पुष २०७९, शनिबार १८:०८

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित


विराटनगर, पुस ३० । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित हुनुभएको छ । प्रदेशसभा सचिवालयमा आज भएको निर्वाचन प्रक्रियाबाट ४६ वर्षीया दनुवार उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।

निर्वाचनमा दनुवारको पक्षमा ५७ र विपक्षमा ३३ मत परेको छ। निर्वाचनमा सभामुख तटस्थ बस्नुभयो भने एमाले सांसद उमाकान्त गौतम र मीना श्रेष्ठ अनुपस्थित रहनुभयो। निर्वाचनमा कुल ९० जना प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको थियो।

९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

नयाँ बनेको गठबन्धनमा एमाले, माओवादी, राप्रपा र जसपाको गरी जम्मा ६० मत हुन्छ। जसमा सभामुख तटस्थ बसी दुई सांसद अनुपस्थित रहँदा सिर्जना दनुवारले ५७ मत प्राप्त गर्नुभएको हो । दनुवारको प्रस्तावक माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जा मगर र समर्थक राप्रपाकी सबिजा बजगाईं हुनुहुन्थ्यो ।

त्यसअघि उपसभामुख पदकै लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ र विपक्षमा भने ५७ मत खसेको थियो। उपसभामुखमा निर्वाचित दनुवार प्रदेश १ को उदयपुरबाट समानुपातिक कोटाबाट निर्वाचित सांसद हुनुहुन्छ ।