जनता टाइम्स

१ माघ २०७९, आईतवार १८:२३

सेती खोँचमा बिलाए कञ्चनपुरका आमा–छोरा, माघी मनाउन उडेका थिए पोखरा


महेन्द्रनगर, माघ १ । पोखरामा आइतबार बिहान भएको यति एअरलाइन्सको जहाज दुर्घटनामा महेन्द्रनगरका एक व्यवसायीका परिवारका सदस्य परेका छन । महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती र छोरा बिमान दुर्घटनामा परेका हुन ।

व्यवसायी भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक दुर्घटनामा पर्नुभएको छ । उहाँहरु आइतबार बिहान घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडनुभएको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी रामदत्त जोशी व्यवसायी भट्टका बहिनी ज्वाई भएको कारण उहाँहरु पोखरा जानुभएको थियो । जोशीको केही दिनअघि मात्रै नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो।

व्यवसायी भट्ट बहिनी ज्वाइँको निम्तोमा घुम्नका लागि पुस २८ मा पोखरा पुग्नुभएको थियो । जोशीले घुम्नुका साथै माघी मनाउन उहाँहरुलाई पनि पोखरा बोलाउनु भएको थियो ।

परिवारका सदस्यका अनुसार व्यवसायी भट्ट पुस ५ मा महेन्द्रनगरबाट काठमाडौं जानुभएको थियो । उहाँका दुई छोरी र दुई छोरा छन । आजको दुर्घटनामा काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत कान्छा छोरा परेका हुन । भट्ट महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी हुनुहुन्छ ।