जनता टाइम्स

१७ मंसिर २०७५, सोमबार १४:५०

टेलिकमको फोरजी विस्तार: ठेक्का जेटीई र सीसीएसआइलाई दिने तयारी


नेपाल टेलिकमको फोजीरएलटीई सेवा विस्तारको टेन्डर चिनियाँ कम्पनी जेटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सीसीएसआई) ले पाउने भएका छन् ।

अघिल्लो वर्ष आहवान गरिएको टेन्डर ढिला गरी ठेक्का दिने तयारी भएको हो। टेलिकम स्रोतका अनुसार कम मूल्यमा प्रस्ताव गर्ने जेटीईले कोर नेटवर्क विस्तार र सीसीएसलाईले रेडियो एक्सेस नेटवर्क (र्‍यान) विस्तारको जिम्मा पाउनेछन्। परियोजनाको कुल लागत १९ अर्ब हुनेछ।

कोर नेटवर्क विस्तारका लाग चिनियाँ कम्पनी हुवावे, जेटीई र सिंगापुरको मिभिनिर कम्पनीले प्रस्ताव दर्ता गराएका थिए। र्‍यान विस्तारका लागि जेटीई र सीसीएसआईले प्रस्ताव हालेका थिए। रेडियो एक्सेस नेटवर्क (र्‍यान) विस्तारका लागि टेलिकमले नेटवर्क एक र नेटवर्क दुई गरी तत्कालीन ५ विकास क्षेत्रलाई दुई भागमा बाँडेर टेन्डर आहवान गरेको थियो। फोजी विस्तार परियोजना २६ महिनामा सिध्याउने टेलिकमको योजना छ।

नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्र र मध्यपश्चिमाञ्चल विकास क्षेत्र राखिएको थियो। नेटवर्क दुईअन्तर्गत पूर्वाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र राखिएको थियो।

टेलिकम स्रोतका अनुसार नेटवर्क एकमा र्‍यान विस्तारका लागि जेटीईले करिब सय मिलियन डलर र सीसीएसईले करिब ८५ मिलियन डलरमा प्रस्ताव दर्ता गराएका थिए। नेटवर्क २ मा भने दुवै कम्पनीले क्रमशस् करिब ८९ मिलियन डलर र ८२ मिलियन डलरमा प्रस्ताव दर्ता गराएका थिए। कम मूल्यांकनको आधारमा सीसीएसईले ठेक्का पाउन लागेको हो।

सीसीएसई आफैंमा टेलिकमसम्बन्धी उपकरण उत्पादन गर्ने कम्पनी होइन। उसले हालेको प्रस्तावमा हुवावेसँग सामान खरिद गरी जडान गर्ने सम्झौता राखेको स्रोतले जानकारी दिएको छ। यस्तै कोर नेटवर्कका लागि जेटीईले १ करोड ५६ लाख डलर, मिभिनिरले २ करोड १० लाख डलर र हुवावेले ३ करोड ८० लाख डलरमा प्रस्ताव दर्ता गराएका थिए। सबैभन्दा कम रकम कबुलेका कारण जेटीईलाई कामको जिम्मेवारी तयारी गरिएको हो।