जनता टाइम्स

३ माघ २०७९, मंगलवार १७:५४

वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा प्रचण्ड बहुमत


हेटौंडा, माघ ३ । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेससभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउनु भएको हो ।

मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा सदनमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले विश्वासको मत दिएका छन् । प्रदेशसभामा ७ वटा राजनीतिक दलहरु रहेका छन ।

उहाँलाई गठबन्धनमा रहेका दलहरु नेकपा एमाले, माओवादी केन्द्र, राप्रपासहित बिपक्षी रहेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका १०५ सांसदले विश्वासको मत दिएका हुन । मतदान प्रक्रियामा १०९ सांसद उपस्थित थिए । उहाँको विपक्षमा ३ मत परेको छ ।

प्रदेशसभामा कांग्रेस ३७, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । सभामुख भुवन पाठक भने मतदान प्रक्रियामा सहभागी हुनुभएन ।

कुल ११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा बहुमत पुग्ने थियो । प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्मकट्टेलले पुस २५ गते मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।

विश्वासको मत पाएपछि नवनियुक्त मुख्यमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लाग्नुभएको छ । हाल प्रदेशको मन्त्रिपरिषद् ३ सदस्यीय रहेको छ ।