जनता टाइम्स

७ माघ २०७९, शनिबार १४:४५

सांसद खतिवडाको एमालेद्वेषी आँखा !


काठमाडौं, ७ माघ । गठबन्धनका बलमा ओखलढुङ्गाबाट प्रतिनधिसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसद रामहरी खतिवडा हिजोआज संसदका एमालेको खेदो खन्न खटाएका देखिनु भएको छ । उहाँले संसदमा पटक–पटक एमाले सांसद लक्ष्मी महतोलाई अपराधि भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउने गर्नु भएको छ ।

झट्ट तत्कालको विषयलाई हेर्दा सांसद खतिवडा खुबै मानवअधिकार प्रेमीजस्तो देखिए पनि उनको नियत भनेको एमाले सांसद संख्या घटाउनु मात्र हो भन्ने बुझ्न गाह्रो छैन । अहिले संसद होस् वा यसअघिको संसद हत्या अभियोगमा अदालतमा मुद्दा विचाराधिन रहेका आधा दर्जन सांसद हुनुहुन्थ्यो । यसअघिको प्रतिनिधिसभाको सभामुख अग्निप्रसाद सापकोटा नै काभ्रेका अर्जुन लामा हत्या अभियोगमा अदालतमा मुद्दा विचारधिन भएका व्यक्ति हुनुहुन्थ्यो । सोही मुद्दाको एउटै मिसिलमा नाम भएका काभ्रे –२ बाट निर्वाचित माओवादीका अर्का सांसद पनि संसदमै हुनुहुन्छ । तर, रामहरी खतिवडाका आँखाले एमाले सांसद मात्र देख्ने गरेका छन् ।

त्यति मात्र होइन राजधानीको मुटुमा रहेको टुंढिखेलमा उभिएर सार्वजनिक कार्यक्रममै ‘पाँच हजार मान्छे मारेको जिम्मा म लिन्छु’ भनेर स्वीकारै गर्ने ब्यक्ति सांसद खतिवडालेसमेत मत दिएकाले प्रधानमन्त्री नै हुनुहुन्छ । यहाँ रामहरी खतिवडालाई कसैले प्रश्न गर्दैन पाँच हजार मान्छे मारेको स्वीकार गर्ने मान्छे जेल हुनु पर्ने होइन र ? कि एक/दुई जना मार्नेलाई पक्राउ गरिहाल्नु पर्ने पाँच हजारको ज्यान लिनेलाई धन्यवाद दिदैं प्रधानमन्त्री छान्नु पर्ने सांसद् खतिवडाको कस्तो न्याय हो ?

जहाँसम्म एमाले सांसद कोइरीको प्रश्न छ उहाँसंगै एउटै मिसिलमा नाम भएका ब्यक्ति लासपाबाट मधेस प्रदेशको मन्त्री भएर पाँच वर्ष विताइसकेका छन् भने अर्काले लोसपाबाटै निर्वाचित भएर जलेश्वर नगरपालिकाको मेयर भए पाँच वर्षे कार्यकाल सकाएका छन् । त्यसमा पनि जुन हत्या घटनामा उहाँलाई मुछिएको छ सो स्थान लोसपाका महन्थ ठाकुरले चुनाव जितेको क्षेत्र हो । सो क्षेत्रबाट यसपटक पनि यसअघि प्रदेश मन्त्री भइसकेका लोसपाका आरोपी नेताले जितेका छन् । सांसद कोइरीको निर्वाचन क्षेत्रबाट घटनास्थल लगभग ४० किलोमिटरको दूरीमा पर्दछ । साँसद कोइरीकाअनुसार सो दिन उहाँ घटनास्थलमा मात्र होइन जिल्लामै हुनुहुन्थेन ।