काठमाडौं, १५ माघ । पूर्वगृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय पुग्नुभएको छ । आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले नागरिकता लिने प्रक्रिया थाल्नुभएको हो । शुक्रबारमात्रै सर्वोच्च अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेको थियो ।
सो फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो । सर्वोच्चको फैसलापछि लामिछानेले आजै नागरिकता पुन: प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुग्नुभएको हो । लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि नेपाली नागरिकता पुन: पाउनुहुने छ ।
जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार लामिछानेले आजै नागरिकता पाउनुहुने छ । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हाल्नुभएको थियो ।
सो रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको थियो ।
नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ।लामिछानेले २०५० सालमा वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । त्यसपछि अमेरिका गए र उतैको नागरिकता लिनुभएको थियो ।
उहाँले २०७० सालमा अमेरिकी नागरिकता लिनुभएको थियो । २०७१ जेठ २२ मा अमेरिकी नागरिकका रूपमा गैरपर्यटक (नाता) भिसामा नेपाल आएर काम गर्न थाल्नुएको थियो । तत्पश्चात् २०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिनुभएको थियो । उहाँले २०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए।














प्रतिक्रिया दिनुहोस्