जनता टाइम्स

१६ माघ २०७९, सोमबार ०७:२५

टुङ्गो लागेन सभामुखको सरकारी निवास


काठमाडौं, १६ माघ । सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो।

माघ ५ गतै नै निर्वाचित भए पनि सभामुख देवराज घिमिरे सरकारी निवासमा सर्नुभएको छैन। सचिवालयले सभामुख, उपसभामुखको निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई भने ताकेता गरिरहेको छ। संसद् सचिवालयले पदाधिकारी निर्वाचनअगावै निवास व्यवस्थापनका लागि आग्रह गरिसकेको हो। त्यसका लागि पुनः ताकेता गरेको छ तर मन्त्रालयले व्यवस्थापन गरिसकेको छैन। “हामीले सहरी विकासलाई आग्रह गरिसकेका छौँ तर व्यवस्थापन भएको छैन। सभामुख पनि गृह जिल्ला जानुभएकाले पुरानैमा व्यवस्थापन गर्नेबारे पनि थप कुरा भइसकेको छैन,” संसद् सचिवालय स्रोतले भन्यो।

सचिवालयका अनुसार घिमिरेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रयोग गर्नुभएको लैनचौरको निवासमा जान अनिच्छा गर्नुभएको छ। बालुवाटारमा रहेको सभामुख निवास भने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रयोग गरिरहनुभएको छ। अध्यक्षको भवनमा भने यसअघि मन्त्रिपरिषद् कार्यालय पुनर्निर्माणका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बनाइएको थियो। उक्त समय प्रतिनिधि सभा सभामुखविहीन रहेकाले अध्यक्ष तिमिल्सिनाले भवन प्रयोग गर्नुभएको थियो।

घिमिरेले लैनचौर जान इच्छा नदेखाएपछि बालुवाटारमै रहेको मुख्य सचिवका लागि बनाइएको निवासमा राख्ने तयारी र आग्रह सचिवालयले गरेको थियो तर उक्त भवनमा समेत मन्त्रिपरिषद्को बैठक कक्ष बनाइएको र सार्ने काम नभएकाले अहिले निवासको खोजी भइरहेको संसद् स्रोतले जनायो।

सभामुखसँगै उपसभामुख निवासको पनि व्यवस्थापनका लागि सचिवालयले सहरी विकासलाई आग्रह गरेको छ। उपसभामुखलाई यसअघि मन्त्री क्वार्टर रहेको पुल्चोकमै निवास व्यवस्थापन गरिएको थियो। सभामुखले लौनचौरको निवासमा बस्न इच्छा नदेखाएपछि उक्त भवनमा उपसभामुखलाई राख्ने तयारी भएको छ।

सभामुख, उपसभामुखसँगै राष्ट्रिय सभा उपाध्यक्षलाई पनि निवास व्यवस्थापन र समन्वयको दायित्व सचिवालयलाई छ। माघ २३ गते उपाध्यक्षको निर्वाचन हुँदै छ। सचिवालयले सो जानकारी मन्त्रालयलाई गराइसकेको छ। उपाध्यक्ष राजनीतिक सहमतिअनुसार नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ। उर्मिला अर्याललाई उपाध्यक्षको उम्मेदवार बनाउने माओवादी केन्द्रको तयारी छ। गोरखापत्रबाट