जनता टाइम्स

२१ माघ २०७९, शनिबार १२:४८

रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटनाबाट गम्भीर घाइते


रुपेन्देही, २१ माघ । विकास निर्माणको पहिलो सूचक नै सडक हो । तीनै तहको सरकार पनि यसैलाई प्राथमिकता दिदै विकास तथा समृद्धिलाई पछाइरहेका छन् ।

गाँउलाई शहर र मुख्य राजमार्गसँग जोड्न महत्वाकांक्षी योजना पनि यिनै सरकारको छ । रुपन्देहीमा पनि पछिल्लो वर्ष यता बढ्दो शहरीकरण र पूर्वाधार विकासले सडकको स्तरोन्नती, विस्तार र नयाँ–नयाँ बाटो खोल्ने काम भइरहेका छन । बढ्दो सडक सुधारले रुपन्देहीलाई विकसित शहरतर्फ लैजादै छ भने अर्कोतर्फ सवारी दुर्घटनाबाट गम्भिर घाइते र मृतकको संख्यामा समेत उकालो चढ्दै छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको त्रि–वर्षिय सवारी दुर्घटनाको तथ्याङ अनुसार रुपन्देहीमा हुदै गरेको सडक विस्तार र स्तरोन्नतीसँगै सवारी दुर्घटनाको संख्या पनि बढेको हो । दुर्घटना बढेसँगै दुर्घटनामा घाइते हुने अधिकांस गम्भिर प्रकृतिको र मृतक हुने गरेका छन । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम संचालन गरे पनि दुर्घटना र मृतकको संख्यामा भने न्यूनिकरण हुन सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङक अनुसार रुपन्देहीमा आर्थिक वर्ष २०७७र७८मा १६२ वटा दुर्घटना भएकोमा ८२ जनाको मृत्यु र १८४ जना घाइते भएका थिए । घाइतेमध्ये १०५ जना पुरुष र ११ जना महिला गरी ११६ जना गम्भिर घाइते भएका थिए ।

यस्तै आर्थिक वर्ष २०७८र७९ मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाको मृत्यु भएको थियो । २३० जना घाइते मध्ये १३७ जना पुरुष र ३४ जना महिला गरी १७१ जना गम्भिर घाइते भएका थिए ।

पछिल्लो २ वर्षमा दुर्घटनामा कमि आए पनि मृतक र गम्भिर घाइतेको संख्या भने बढ्दो छ । चालु आर्थिक वर्षको ६ महिनामा रुपन्देहीमा ८५ वटा दुर्घटना भएको छ जसबाट ४४ जनाको मृत्यु भएको छ भने ५९ जना गम्भिर घाइते र २० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा सवारी दुर्घटना पनि बढ्दो छ । यस अवधिमा भएको दुर्घटना मध्ये सबै भन्दा तिब्र गतीको कारणले दुर्घटना भएको छ, यस्तै चालकको लापरवाही र यात्रुको गल्तीले पनि केही दुर्घटना भएका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरिक्षक साकार राज पन्तका अनुसार रुपन्देहीमा सबै भन्दा बढि दुर्घटना सिद्धार्थ राजमार्गको तिलोत्तमा नगरपालिकाको सडक खण्डमा भएको बताए । सडकको अवस्था स्तरीय र भरपर्दो भएकोले त्यस क्षेत्रमा अत्याधिक गतिकै कारण दुर्घटना बढि भएको देखिएको छ, पहिलाको तुलनामा सडकहरु स्तरीय बन्दै गएकोले लेन अनुशासन र गतिमा ध्यान नदिदा पनि उच्च गतिकै कारण दुर्घटनाबाट गम्भिर घाइते र मृतक हुनेको संख्या बढेको देखिएको छ । पहिला बाटोहरु साघुरो र स्तरीय नहुदा सवारी साधान विस्तारै जाने गरेकोमा अहिले तोकिएको भन्दा बढि गतिमा सवारी हाक्दा अधिकांस साझ ६ बजे पछि नै दुर्घटना भएको देखिन्छ । भएको दुर्घटना मध्ये धेरै जसो मोटरसाइकलबाट भएको छ भने केही ट्रक,टयाङकर,बस र अन्य सवारी साधनहरुबाट सवारी दुर्घटना भएको ट्राफिक प्रमुख पन्तले भने ।

पछिल्लो समय सडकमा बढ्दो सवारी चाप, सिमित बाटो, क्षमता भन्दा बढी यात्रु बाक्ने, सडकको अवस्था मौसमको कारण र हरेक वर्ष सवारी साधनको संख्या वृद्धि हुदैं जानुले दुर्घटना बढ्दै गएको छ । दुर्घटना तथा त्यसबाट हुने क्षति न्युनिकरणका लागि बिभिन्न कार्य गर्दै आए तापनि सडक सञ्जाल बिस्तार संगै ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ खाएर सवारी चलाउनु चालकको लापरबाही, तिब्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढी रहेको छ । सवारी दुर्घटनाहरूमा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ ।

हालै मात्रै कार्यालय प्रमुखको जिम्मेवारीमा आएका प्रहरी निरिक्षक पन्तले लेन अनुशासनको पालन नदेखेपछि पहिलो चरणमै यहाँस्थित संस्था, विद्यालय,यातायात व्यवसायी, उद्योगी व्यवसायी र संचारकर्मी लगायतको सहकार्यमा ट्राफिक सचेतनामुलक कार्यक्रम सडकमै गर्न लागेका छन । लेन अनुशासन सिकाउन र लेनको प्रयोगमा बानी विकास गर्न यो सप्ताहले केही सहयोग पुग्ने उनको अपेक्षा छ । ट्राफिक नियमको पालना गरौ सभ्य नागरिकको परिचय दिउँ भन्ने नाराका साथ ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन लागेको कार्यालयले शुन्य सहिष्णुता कायम गर्दै मातहतका कुनै युनिट र प्रहरीले गल्ती गरेको पाए त्त्काल सुधार गर्ने प्रमुख पन्तको दाबी छ । बजारमा यातायात पार्किङ्गको लागि चुनौती हुदाहुदै पनि व्यवस्थापन भइरहेको छ । सिमित सडक तथा बाटोहरूमा दिनहँ बढीरहेका असिमित सवारी साधनहरूको व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण रहेको छ । हामीहरूको उद्धेश्य नै दुर्घटना र क्षति न्युनिकरण हो, भरसक दुर्घटना नै नहोस भन्ने चाहना हो, त्यही अनुसार सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने छौ ।

सडक दुर्घटनालाई कम गराउन राजमार्गलाई वान वे गराई निश्चित लेनमा निश्चित गतिमा सवारी हाक्ने मापदण्ड अनिवार्य लागु गर्नु पर्छ । सडकको बीचमा डिभाइडर र छेउमा मान्छे छिर्न नमिल्ने बारहरू व्यवस्थापन गरेर अवरोधहरुलाई हटाउन सके अघिल्लो भागबाट ठोक्किएर हुने दुर्घटना र ओभर्टेक बाट हुने दुर्घटना रोक्न सकिन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नियम विपरित सवारी चलाउनेलाई कारवाही पनि गर्ने गरेको छ ।

बिना लाइसेन्स सवारी साधन चलाए, क्षमताभन्दा बढी यात्रु बोके, यात्रुबाहकमा सामान ओसार पोसार गरे, बिना कागजात सवारी चलाए, तोकिएको सवारीसधान भन्दा बढी मालबस्तु बोके जरिवाना गर्ने व्यवस्था भए अनुरुप ट्राफिक प्रहरीले कारवाही गर्ने गर्छ । रुपन्देहीमा पछिल्लो तीन वर्षमा कारवाही हुनेको संख्यमा पनि बृद्धि भएको देखिएको छ । अर्थिक वर्ष २०७६÷७७मा २२ हजार २ सय ३७ सवारीसाधनलाई कारवाही गरेर १ करोड ८० लाख जरिवाना बुझेको छ ।

यस्तै आर्थिक २०७७÷७८मा यो संख्यामा बृद्धि भई ५८ हजार १ सय ८४ सवारीसधानलाई कारवाही गर्दा ५ करोड ७३ लाख राजश्व जरिवाना स्वरुप संकलन भएको छ भने आर्थिक वर्ष २०७८÷७९मा ६५ हजार ९सय ५० वटा सवारीसाधनलाई कारवाही गर्दा ६ करोड ९१ लाख राजश्व संकलन भएको छ ।

जति भौतिक पूर्वाधार व्यवस्थित हुदै गएका छन सोही अनुसार नियम मिच्ने पनि बढि रहेका छन, यो चेतनाको अभाव र मनोमानीकै कारण भएको छ । कारवाही नै समाधान नभएपनि सचेत गराउनका लागि तोकिएको मापदण्ड अनुसार नै ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्म पनि कार्यालयले २२ हजार २ सय पचास सवारीसाधनलाई कारवाही गरेर २ करोड १३ लाख राजश्व जरिवाना वापत संकलन गरिसकेको छ । कारवाही हुनेमा सबै भन्दा बढि ओभरलोडका ट्रक हुने गरेको छ, अधिकांस ओभरलोड ट्रकलाई ट्राफिक प्रहरीले बेलहिया बाइपासमै जरिवाना गरेर नेपाल भित्राउने गरेको छ ।