जनता टाइम्स

२२ माघ २०७९, आईतवार ११:४२

एकाबिहानै रवि पहिले बालकोट त्यसपछि बालुवाटार


काठमाडौं, २२ माघ । काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज एकाबिहानै पहिले बाटकोट पुगेर नकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गनुृ भएको छ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्नुभएको छ । पार्टीको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालकोट र बालुवाटार पुग्नुभएको हो ।

बिहान साढे ११ बजे पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । लामिछाने सुरुमा ओलीलाई भेटेर त्यसपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुग्नुभएको थियो । ‘आज बिहान प्रधानमन्त्रीज्यू र रविजीबीच भेटघाट भयो । उहाँहरुबीच के के कुरा भयो थाहा भएन,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भन्नुभयो ।

प्रचण्डलाई भेट्न जानुअघि उहाँले एमालेका अध्यक्ष ओलीलाई भेटेको रास्वपाका एक नेताले बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेपछि निर्णायक छलफल हुने ती नेताले बताउनुभयो । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सहयोगी रामशरण बजाइले रास्वपाका सभापति लामिछाने र ओलीबिच भेट नभएको जिकिर गर्नुभएको छ । ‘अध्यक्षज्यू र रविबीच भेटघाट भएको छैन । भेट्ने कार्यतालिका पनि छैन,’ बजगाईँले जिकिर गर्नुभयो ।

सांसद पद गएपछि गैरसांसदको रूपमा गृहमन्त्री हुन पाउनुपर्ने भन्दै रविले प्रधानमन्त्री प्रचण्डलाई दबाब बढाउनुभएको छ । यदि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी उहाँको छ । तर उनको पासपोर्टको मुद्दा किनारा नलाग्दासम्म मन्त्री बनाउन नसक्ने प्रचण्डले अडान लिनुभएको छ । पछिल्लो समय पार्टीका नेताहरुले पनि रविलाई मन्त्री नबनाउन प्रचण्डमाथि दबाब बढाउँदै आउनुभएको छ । लामिछाने नेतृत्वको पार्टीका अरू सांसदलाई गृहबाहेक मन्त्रालय दिन सकिने निष्कर्षमा प्रचण्ड पुग्नुभएको छ ।

गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने लामिछानेले चेतावनी दिइरहनुभएको छ । गत बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले केही दिन फर्किन आग्रह गरेपछि रोकिनुभएको थियो । लगत्तै बैठक बसेर लामिछानेले शुक्रवार र शनिवार २ दिनको अल्टिमेटम दिनुभएको थियो । सो अल्टिमेटम शनिवार सकिए पनि रास्वपा निष्कर्षविहीन छ ।