काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । आइतबार निर्वाचन आयोग पुगेर नेता श्रेष्ठले निवेदन दिनुभएको हो ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित हुनुभएको थियो । सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ निर्वाचनमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुग्नुभएको हो ।
नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीहरूसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताउनु भयो । उहाँले उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पार्नुभयो ।
सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेको कारण रहेको भन्दै उपनिर्वाचनको माध्यमबाट सांसदको पदपूर्ति हुने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्