जनता टाइम्स

२५ माघ २०७९, बुधबार १४:१४

प्रहरी सेवा लिन शुल्क तिर्नुपर्दैन : डिआइजी टेकप्रसाद राई


भैरहवा, २५ माघ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेक प्रसाद राईले प्रहरी सेवा लिनका लागि कुनै पनि शुल्क तिर्न नपर्ने बताउनुभएको छ ।

हालै मात्रै सरुवा भएर प्रदेशका विभिन्न जिल्ला निरिक्षणमा निस्केका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राईले प्रहरीमा निवेदनका लागि पीडित पक्षले शुल्क तिरेर मात्रै प्रहरी इकाईहरुमा निवेदन दर्ता गर्ने पाइएकोले जो कोही पनि प्रहरीको सेवा लिन असमर्थ रहेको भन्दै प्रदेशका प्रत्येक जिल्ला प्रहरी कार्यालयमा निःशुल्क निवेदनको लागि व्यवस्थापन गरिने बताउनुभयो ।

‘प्रहरी २४ घण्टै सेवामा हुन्छ, निःशुल्क एवं नागरिक मैत्री प्रहरी सेवा प्रवाह हुने,’ उहाँले भन्नुभयो । समयमै प्राप्त हुने सुचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने हुदा कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताउदै डिआइजी राईले अपराधीलाई संरक्षण नगरी प्रहरीलाई सूचना दिएर सकारात्मक भूमिका खेल्नु पर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश र भारतसँग करिब ३८५ किलोमिटर खुला सीमा भएकोले सिमाना सुरक्षाका लागि ठूलो चुनौती रहे पनि भएको जनशक्ति र स्रोत साधनका बाबजुद तस्करी र अपराध नियन्त्रण प्राथमिकतामा रहेको बताउनुभयो ।