जनता टाइम्स

२५ माघ २०७९, बुधबार १६:४५

टर्किए भूकम्प : मृतकको संख्या साढे ९ हजार नाघ्यो, चिसोले उद्धारमा समस्या


एजेन्सी, २५ माघ । टर्की र सिरियामा भूकम्पका कारण अवस्था बिग्रँदै गएको छ । हालसम्म कुल ९ हजार ६५५ जनाको मृत्यु भइसकेको छ । घाइतेको संख्या ३५ हजार नाघेको छ । दुवै देशलाई सहयोग गर्न ७० भन्दा बढी देश अगाडि आएका छन् ।

योसँगै टर्कीका धेरै सहरहरूमा तापक्रम माइनस ९ देखि माइनस २ डिग्री सेल्सियससम्म पुगेको छ । यस्तो अवस्थामा मानिसमा हाइपोथर्मियाको जोखिम हुने स्वास्थ्य विज्ञहरू बताउँछन् । हाइपोथर्मियामा, शरीरमा गर्मी उत्पादन हुँदैन, जसका कारण शरीरको तापक्रम द्रुत रूपमा घट्न थाल्छ ।

हिमपात र वर्षाका कारण भूकम्प प्रभावित दुवै देशमा उद्धार कार्य प्रभावित भएको राष्ट्रसंघले जनाएको छ । आकस्मिक सेवा टोलीहरूले उद्धारमा धेरै कठिनाइको सामना गरिरहेका छन् । भूकम्पको केन्द्रबिन्दु सहर गाजियन्टेपका बासिन्दाहरूले भूकम्प गएको १२ घण्टा बितिसक्दा पनि सहयोग पुग्न नसकेको बताएका छन् ।

भूकम्पको ठूला अपडेट . . .

– विश्व स्वास्थ्य संगठनले मृत्यु हुनेको संख्या २० हजार नाघ्ने जनाएको छ ।

– टर्कीमा ७ हजार १०८ जनाको ज्यान गएको छ भने ३४ हजार ८१० भन्दा बढी घाइते भएका छन् ।

– सिरियामा २ हजार ५ सय ४७ जनाको ज्यान गएको छ भने ३ हजार ८४९ भन्दा बढी घाइते भएका छन् । यसरी मृत्यु हुनेको संख्या ९ हजार ६५५ पुगेको छ ।

– टर्कीमा ८ हजार मानिसको उद्धार गरिएको छ । उद्धारका लागि २४ हजारभन्दा बढी उद्धारकर्ता खटिएका छन् । यहाँ करिब ३ लाख ८० हजार मानिसले सरकारी आश्रय र होटलमा आश्रय लिएका छन् ।

भूकम्पका कारण टर्की १० फिट सर्यो
भूकम्पको केन्द्रबिन्दु टर्किए थियो । यसलाई हेरेर यहाँका टेक्टोनिक प्लेटहरू १० फिट (३ मिटर) माथि सरेको विज्ञहरू बताउँछन् । वास्तवमा टर्की ३ टेक्टोनिक प्लेटको बीचमा अवस्थित छ । यी प्लेटहरू एनाटोलियन टेक्टोनिक प्लेट, यूरेशियन र अरेबियन प्लेट हुन् । विज्ञहरूका अनुसार एनाटोलियन टेक्टोनिक प्लेट र अरेबियन प्लेट एकअर्काबाट २२५ किलोमिटर टाढा सरेका छन् । जसका कारण टर्की आफ्नो भौगोलिक स्थानबाट १० फिट सरेको छ ।

इटालीका भूकम्पविद् डा कार्लो डोग्लियोनीले टेक्टोनिक प्लेटमा भएको परिवर्तनका कारण टर्की सिरियाभन्दा ५ देखि ६ मिटर (लगभग २० फिट) बढी तलतिर सरेको हुनसक्ने बताए । उनले भने– यद्यपि प्रारम्भिक तथ्यांकबाट यस्तो जानकारी प्राप्त भएको हो । आगामी दिनहरूमा स्याटेलाइट तस्विरहरूबाट सही जानकारी उपलब्ध हुनेछ।

फेब्रुअरी ६ मा तीनवटा ठूला भूकम्प गएका थिए

टर्की र सिरियामा फेब्रुअरी ६ मा बिहान ३ वटा ठूलो भूकम्प गएको थियो । टर्की समय अनुसार पहिलो भूकम्प बिहान ४ बजे (७.८), दोस्रो बिहान १० बजे (७.६) र तेस्रो दिउँसो ३ बजे (६.०) मा गएको थियो।

यसबाहेक २४३ वटा पराकम्पन पनि रेकर्ड गरिएको थियो । तिनीहरूको तीव्रता ४ देखि ५ थियो।

टर्कीमा फेब्रुअरी ७ मा बिहान ८.५३ बजे अर्को भूकम्प गएको थियो । त्यसलगत्तै १२ बजेर ४१ मिनेटमा ५.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।