जनता टाइम्स

१२ फाल्गुन २०७९, शुक्रबार १९:२६

केपी-माधव बार्ता, यस्तो छ निश्कर्ष


काठमाडौं, फागुन १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटबार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर बाहिरिएलगत्तै एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गर्नुभएको हो ।

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन फुटको संघारमा पुगेको बेला ओलीले नेपालसँग महाराजगञ्जमा भेटवार्ता गर्नुभएको हो । ओलीसँग भेटका लागि गएपछि नेपाल बालुवाटार बैठकमा अरु नेताभन्दा ढिला पुग्नुभएको थियो ।

ओलीले यसअघि पनि अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपतिको प्रस्ताव राख्नुभएको थियो । तर, पुरानो गठबन्धन ब्युँताउँदा नेपाललाई कांग्रेस–माओवादीले पाँच वर्षभित्र एक वर्ष प्रधानमन्त्री दिने आश्वासन दिएका छन् ।

नेपालले भने राष्ट्रपतिमा दाबी गरिरहनु भएको छ । एमाले अध्यक्ष ओलीले नेपालसँग राष्ट्रपतिमा साझा उम्मेदवार हुने भन्दै अडान नछाडन सुझाउनु भएको बताइएको छ ।

बिहान बालुवाटारमा बसेको चार दलको बैठकमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो । तर, एमाले पुस १० गते माओवादी केन्द्रसँग भएको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने पक्षमा छ ।