जनता टाइम्स

१७ फाल्गुन २०७९, बुधबार १०:०८

प्रदेश – १ कोे नाम जुराइयो, आजै अचम्भित पार्ने योजना !


विराटनगर, १७ फागुन । प्रदेश –१ को सभामा आजै नयाँ नामको प्रवेश गराइने भएको छ । विभिन्न नामका विवादबीच प्रदेशसभाको पहिलो कार्यकाल गुजारेको प्रदेशमा दोश्रो कार्यकालको सुरुमै नाममा लगभग सहमति भएको बताइएको छ ।

नेकपा माओवादीका प्रदेश सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेती सुशीलले कुनै नाटकीय परिवर्तन नभए आज बुधवार राती ८ बजेसम्म भएपनि नामको विषय टुंगोमा पुग्ने बताउनुभयो ।

नेकपा माओवादीले पहिचानसहितको नाममा जोड दिएको छ । यद्यपि अरू नाममा दुई तिहाइ पुग्ने भएपछि जातीय पहिचान नभएको नाममा समेत सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ ।

मंगलबार माओवादीका प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य साथै संसदीय दलको नेताको इन्द्रबहादुर आङ्बोको उपस्थितिमा बैठक बसेर नामकरणमा बाधक नबन्ने नीति लिएको छ ।

माओवादीले कोसी नाममा समेत सहमति जनाउने रणनीति लिएको छ । नेकपा एमालेले भने मंगलबार निर्देशानात्मक संसदीय दलको बैठक गरेको थियो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीका प्रदेश अध्यक्ष, इन्चार्ज र केन्द्रीय अध्यक्षको समन्वय छलफल बढाउनुभएको थियो । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले यस अघि नै प्रदेशको नाम कोसी हुनुपर्ने लबिङ गर्दै आउनुभएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दलहरुबीच नामकरणको विषयमा छलफल भएको स्वीकार गर्दै यदि सभामा नामको प्रस्ताव आएमा आफूहरू सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । यसअघिको प्रदेशसभामा पनि नामकरणको विषय पेचिलो बनेपछि थाँती रहेको थियो ।