काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरुको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको बताउनुभयो ।
स्थानीय तह कर्मचारी संघ, नेपालले आज एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि अति नै खतरनाक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मुस्ताङमा विश्वविद्यालय (मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो । २०३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजिएको हो। आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वधिनतालाई अस्वीकार गरेको हो ।’
ओलीले विश्वविद्यालयको नाममा अन्य चलखेल भएको बताउनुभयो । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन खोजिरहेको आरोप लगाउनु भएको छ । उहाँले थप्नुभयो, ‘मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजेको छ ।’
उक्त योजनालाई उहाँले विदेशीको खेलमैदान बनाउन खोजिएको भन्दै त्यहाँको युरेनियममा ध्यान दिइएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘त्यहीँबाट २०३१ मा वाङ दी अघि बढाइएको थियो । त्यस समयमा चामेभन्दा तल थियो मार्फाको छेउमा थियो । अहिले लोमान्थाङभन्दा माथि लैजान खोजिएको हो । जहाँ मानिस छैन त्यहाँ विश्वविद्यालय ! त्यहाँ खास उद्देश्यका पेड मानिसहरु मात्रै बस्छन्।’
अध्यक्ष ओलीले भारतलाई खुसी पार्न प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट आउने तरकारीहरूको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले थप्नुभयो, ‘भारतबाट विषादी परिक्षणबिना नै तरकारी आयात गर्न दिएको छ। अहिले सरकारमा बस्नेहरुमा लाजसरम छैन ।
हाम्रो भान्साभान्सामा विषादीयुक्त चिज आउन दिने र नेपालीलाई खुवाउन दिने, मालिक खुसी हुन्छ कि हुँदैन ! विषादी खुवाएर नेपाली जनतालाई मार्ने काम सरकारले गर्न खोजिरहेको छ। नेपालीको भान्सामा विषादी आएर के भयो ? प्रधानमन्त्रीजीको आदेशमा तरकारी आदि विषादीको कुनै जाँचबुझ गर्न पाइने छैन । सबै ठाउँमा संयन्त्र नहुनु बेग्लै कुरा हो । भएकोमा जाँच्नु पर्यो नि !
बाह्य शक्तिलाई खुसी पार्ने, आफ्नो जनतालाई विषाक्त चीजहरु खुवाएर मार्ने ? त्यस खालको विरोध गर्नुपर्छ ।’ अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो ८ दलीय नाम मात्रको गठबन्धन हो । यसको कुनै गन्तव्य नै छैन ।’ उहाँले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउने काममा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्