काठमाडौं, फागुन २२ । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनै नपाइने भन्ने आफ्नो भनाइको आशय नभएको बताउनु भएको छ ।
भट्टराईको अभिब्यक्तिलाई लिएर चर्काे आलोचना भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो आपत्तिजनक अभिब्यक्ति सच्याउनु भएको हो ।
सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले सहिद सप्ताहको अन्तिम दिनमा आइतबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालले तीन वर्षअघि दिएको राजनीतिक अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतले गरेको निर्णयप्रति आलोचना गर्नुभएको थियो ।
‘सानो स्पष्टीकरण– बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन ! मज्जाले पाइन्छ ! म आफैँ प्रम छँदा थुप्रै मु्द्दा खेपेको छु, अदालतमा हाजिर भएको छु‚’ ट्विटरमार्फत स्पष्टीकरण दिँदै भट्टराईले लेख्नुभएको छ, ‘तर शान्तिसम्झौताअनुसार जनयुद्धकालीन मुद्दा टीआरसीले हेर्ने हो । नियमित अदालतले होइन । प्रम प्रचण्डको हकमा पनि त्यही हो । आवेग हैन विवेकले काम गरौं ।’
भट्टराईले माओवादी नेतृत्वको आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको पनि बताउनु भएको थियो । ’माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या होइन ?,’ कार्यक्रममा उहाँले भन्नुभएको थियो, ’तीन वर्ष अगाडिको भनेको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने ? मुद्दा लगाउर्ने भन्ने हो भने त्यो निहुँ खोज्या होइन ? जिस्किएको हैन ?’
सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले प्रधानमन्त्री दाहालविरुद्ध ज्ञानेन्द्रराज आरणसहित १५ जनाले दिएको एउटा र कल्याण बुढाथोकीसहित ८ जनाले दिएको अर्को गरी दुई वटा छुट्टाछुट्टै निवेदन दर्ता गर्न सर्वोच्चले प्रशासनलाई शुक्रबार आदेश दिएको थियो । निवेदनमा दाहाललाई पक्राउ गर्नुपर्ने माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्