जनता टाइम्स

१ चैत्र २०७९, बुधबार १९:१०

वातावरणसँग सम्बन्धित कार्यक्रम घोषणा


लुम्बिनी, १ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान १०० औँ शृङ्खलामा पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच कार्यक्रम घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित ती कार्यक्रम घोषणा गर्नुभएको हो ।

नगर प्रमुख खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान, नगरमा हर्न निषेध, पशु दर्ता प्रणाली सञ्चालन, फोहरमैलाको वर्गीकरण र गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । घोषणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने उहाँको विश्वास छ ।

कार्यक्रममा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरसफाइ अभियान आसपासका अन्य पालिकालाई समेत जोड्न तिलोत्तमालाई आग्रह गर्नुभयो । सरसफाइ, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै नेता पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधि एकै ठाउँमा रहेको स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा सदस्य एवं प्रथम तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले नेपालले दिगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाइ अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यकालमा सुरु भएको सरसफाइ अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै उहाँले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्राङ्गारिक खेतीमा जोड दिन सुझाव दिनुभयो ।

बागमती सरसफाइ महाभियानका संयोजक एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलले फोहरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सकेमात्र फोहरमैलाको दिगो व्यवस्थापन हुने बताउनुभयो । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनुपर्ने बताउनुभयो ।

मूल समारोहमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था, शिक्षक, कर्मचारी, खानेपानी संस्था, सिँचाइ प्रणाली, वन, टोल विकास संस्था, व्यावसायिक सङ्घ संस्थाका प्रतिनिधिलगायतका नगरवासीको सहभागिता रहेको थियो । सो अवसरमा हरियाली प्रवद्र्धन तथा नगर सरसफाइ अभियान प्रारम्भ गरी संस्थागत गराउन महत्वपूर्ण काम गरेकोमा पूर्वनगरप्रमुख वासुदेव घिमिरे र विभिन्न सङ्घ संस्थालाई सम्मान गरिएको थियो ।