जनता टाइम्स

४ चैत्र २०७९, शनिबार १८:४७

नागरिक लगानी कोषको प्राथमिकता : पूर्वाधार विकासका क्षेत्रहरुलाई लगानी


काठमाडौं, चैत ४ । नागरिक लगानी कोषका अध्यक्ष सूर्यबहादुर थापाले आर्थिक वृद्धिमा टेवा पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंमा आज आयोजित कोषको ३३ औं वार्षिकोत्सवमा थापाले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ कोषले काम गर्ने बताउनु भयो ।

‘देशको आर्थिक वृद्धिमा टेवा पुर्याउने एवं रोजगारी सिर्जना गर्न गरी कोषले कृषि, पर्यटन, उर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै लैजानुपर्ने देखिन्छ,’ थापाले भन्नुभयो, ‘कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत, साधनअनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको छ । कोषले सोहीअनुसार आफू पनि परिमार्जन हुनुपर्ने देखिन्छ ।

कार्यक्रममा राजस्व सचिव रामप्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताउनु भयो । सोही अवसरमा घिमिरले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन थालेको बताउनु भयो । अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेको पनि उहाँको भनाई छ ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपौयाँ रहेकोमा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको बताउनु भयो । लगानी गर्दा सुरक्षित र प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिई लगानी बढाउँदै आएको उहाँको भनाई छ ।

कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता देखि नयाँ सफ्टवेयर संचालनमा आइसकेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रसेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम सिग्याँस प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सबै सहभागीहरुलाई सापटी तथा अन्तिम भुक्तानी एनसिएचएलको कनेक्ट आइपीएसमार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य संगठित संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाइसकिएको छ ।’