जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १६:५८

प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने : नवनियुक्त आईजीपी कुँवर


काठमाडौं, १० चैत्र। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता हुने बताउनुभएको छ।

विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने बताउँदै उहाँले भन्नुभयो , ‘त्यसबाहेक संगठनभित्र आन्तरिक शुद्धिकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’ कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताउनुभयो।

आफूले प्रणालीगत थिति बसाउने गरी काम गर्ने बताउँदै कुँवरले प्रोएक्टिभ पुलिसिङ गर्ने बताउनुभयो । ३० वर्षे सेवा अवधि कायमै रहे उहाँले एक वर्ष प्रहरी नेतृत्व सम्हाल्नु हुने छ । तीन दिनअघि मात्रै सरकारले उनीसहित ५ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा भएका कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका लागि प्रतिस्पर्धी थिए ।