जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार २०:५४

सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो : उपाध्यक्ष पौडेल


काठमाडौं, १० चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ । शुक्रवार जनकपुरधाममा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले सत्तारूढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले देशको कुनै पनि समस्या समाधान गर्न नसक्ने पनि बताउनुभयो । सत्तारूढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र नागरिकको समस्या समाधान गर्नै नसक्ने उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘यो सरकारले नागरिकका समस्या समाधान गर्न सक्ने छैन । राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान पनि छैन । तपाईँहरूले देखिरहनुभएको छ– जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने रु सरकारमा कसरी पुग्ने चिन्ता थियो, अब सरकार कसरी टिकाउने भन्ने छ । योभन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन । यस कारणले यो गठबन्धनले देश र नागरिकका समस्या समाधान गर्न सक्दैन । सत्तारूढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ । मन्त्रालयको बाँडफाँट गर्न नसक्ने अवस्थामा यो गठबन्धन पुगिसकेको छ ।’

निवर्तमान उपप्रधान एवम् अर्थ मन्त्रीसमेत रहनुभएका पौडेलले देशको अर्थतन्त्र धरापमा परेको पनि बताउनुभयो । उहाँले राजस्वले देशको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको आरोपसमेत लगाउनुभयो ।