जनता टाइम्स

१४ चैत्र २०७९, मंगलवार २१:०७

प्रचण्ड र शेरबहादुरले देशको भूगोल खुम्च्याए– अध्यक्ष ओली


काठमाडौं, १४ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देशको भूगोल घटेको बताउनुभएको छ । एमालेले पाल्पामा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको बताउनुभएको हो ।

‘नेकपा एमालेलाई काम गर्न दिइएन, हटाइयो, त्यसपछि डेढ वर्षमा हाम्रो देशको भूगोल अलिकति सानो भो, सीमा मिचियो’ ओलीले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरुले अलिकति खुम्च्याए । अलिकति उनीहरुले आफ्नो भूभाग नदेखेझैं गरे ।’

सीमा रक्षा गर्ने सरकारमा हुनेहरुको कर्तव्य भए पनि उनीहरुले नदेखेजस्तो गरेको अध्यक्ष ओलीले बताउनुभयो । ‘ए हो र मैले त देखिन ‘! कस्तो दलाली, कस्तो चाकडी ?’ उहाँले भन्नुभयो । ओलीले भारततर्फ संकेत गर्दै अब आफूविरुद्ध प्रचण्ड र देउवा कुरा लगाउन जाने टिप्पणी गर्र्नुयभो । ‘मैले यति बोलेपछि कुम्लो कुटुरो बोकेर कुरा लाउन जान्छन् । हजुर पाल्पामा केपी ओलीले नेपालको सीमा घटायो भन्यो नि त्यसलाई आउन दिनु हुदैन भनेर’ उहाले भन्नुभयो ।
ओलीले अब आफूलाई प्रधानमन्त्री बन्ने रहर नभएको समेत बताउनुभयो । ‘प्रधानमन्त्री बनिसकेँ, काम गरेर देखाइसकेँ, तपाईहरुले माया गर्नुभएको छ, मलाई पुगेको छ’ उहाँले भन्नुभयो, ‘तर देश त जोगिनुपर्‍यो नि देशको रक्षा हुनुपर्‍यो नि ।’