काठमाडौं, चैत १९ । भारतीय आयल कर्पाेरेशन निगम (आईओसी) ले घटाएर इन्धनको नयाँ मूल्य पठाएको छ । आइओसीले आज इन्धनको मुल्य सूची घटाएरु पठाएको हो ।
प्राप्त सूचीअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटाएर पठाइएको छ । घटेको नयाँ मूल्यअनुसार निगमले बजार उपभोक्ता मूल्य भने घटाइसकेको छैन ।
घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड बढी नाफा हुने प्रक्षेपण गरिएको छ । बिगत १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा थियो ।
डिजेलको मूल्यलाई लिएर सरकारको पूँजीगत खर्चसमेत हुन नसकेको गुनासो निजी क्षेत्रले गरिरहेका छन् । निगमले भने गत वर्षको घाटाको बक्यौता र ऋणका कारण अझै निगम वित्तीय दायित्वले थिचिएको जिकिर गर्दै आएको छ ।
सरकारले ६ अर्ब ५० करोड ऋण र भारतीय आयल कर्पोरेसनको ८ अर्ब बक्यौता अझै बाँकी रहेको निगमको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्