काठमाडौं, २० चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि श्रेष्ठले प्रहरी कर्मचारीलाई निर्देशन पनि दिनुभएको छ । गृहमन्त्री श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गर्नुभयो ।
श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडिओ कन्फ्रेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू र सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुभयो ।
सम्बोधनका क्रममा ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर प्रहरी सेवा प्रदान गर्न गरिएका प्रयास अत्यन्तै सराहनीय रहेको चर्चा गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘तपाईंहरुले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधरणको भरोसा र विश्वास लुकेको छ। स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’
तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उहाँले यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारवाही गर्नसमेत निर्देशन दिनुभयो । श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्न, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न, महिला बालबालिका, ज्येष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन कानूनले निर्दिष्ट गरेका जिम्मेवारी पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन निर्देशन दिनुभयो ।
कुनै पनि अवाञ्छित दबाब र चलखेलमा नपरी संगठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्माचारीहरू ऐक्यबद्ध भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । श्रेष्ठले पेशागत मर्यादा र प्रतिष्ठालाई कायम गर्दै संविधान र कानुनले संगठनलाई दिएको जिम्मेवारी पूरा गर्न निर्भिकतापूर्वक सिर्जनात्मक ढंगले दायित्व निर्वाह गर्न भन्नुभयो ।
पदस्थापना बढुवा, सरूवालाई अधिकतम प्रणालीगत र संस्थागत ढंगले आगाडि बढाउन आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । साथै मिटरब्याजबाट पीडितहरुको उजुरी समयमा नै अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई उचित न्याय दिलाउने कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।
त्यही अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले तालुक मन्त्रालयबाट नेपाल प्रहरीको वृत्ति विकास, संरचनागत सुधार र हालसम्म प्राप्त सहयोगको लागि धन्यवाद दिँदै उपप्रधानमन्त्रीज्यूको नेतृत्व एवं अभिभावकत्वमा प्रहरी कर्मचारीको वृति विकास र क्षमता अभिवृद्धिमा ठोस कदम चालिने विश्वास व्यक्त गर्नुभयो । हुण्डी, क्रिप्टोकरेन्सी कारोबार, विदेशी मुद्रा तथा गैरकानूनी सुन ओसारपसारविरुद्ध नेपाल प्रहरीले कठोर भई कारवाही र अनुसन्धान गर्दै आएको आईजीपी कुँवरले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्