जनता टाइम्स

२१ चैत्र २०७९, मंगलवार २०:४६

सरकारमा दायाँबायाँ गरेर संसदलाई अस्थिर बनाउने काम एमालेबाट हुँदैन : पृथ्वीसुब्बा गुरुङ


सुर्खेत, २१ चैत । नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सरकारमा दायाँबायाँ गरेर संसदलाई अस्थिर बनाउने खेलमा एमाले नलाग्ने बताउनुभएको छ । आज मंगलबार सुर्खेत विमानस्थलमा प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव गुरुङले एमाले शालीन तर सशक्त प्रतिपक्षको भूमिकामा रहेकाले सरकार र संसदलाई अस्थिर बनाउने काममा नलाग्ने बताउनुभएको हो ।

‘नेकपा एमाले अब सत्ता तोड्ने र जोड्ने खेल भन्दा माथि रचनात्मक प्रतिपक्षको भूमिकामा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘एमाले शालीन तर सशक्त प्रतिपक्षको भूमिकामा पुगिसकेको छ, अब हामी मुलुकलाई अस्थिर बनाउने तत्वहरूकाविरुद्ध सशक्त आवाज उठाउँछौँ ।’ राष्ट्रको पक्षमा काम गर्दा शालीन र रचनात्मक तर राष्ट्रिय हितविपरीतको काम हुँदा एमाले जुझारु प्रतिपक्ष बन्ने उहाँको भनाइ छ ।

एमाले सरकार र सदनलाई अस्थिर बनाउन नभई आफ्नो पार्टीलाई सुदृढ र विस्तारित बनाउन ‘मिसन ग्रासरुट’ अभियान लिएर गाउँ–गाउँ र टोल–टोलमा पुगेको बताउँदै उपमहासचिव गुरुङले अहिले एमालेको सम्पूर्ण ध्यान मिसन ग्रासरुट अभियानमा रहेको स्पष्ट पार्नुभयो ।

देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेका बेला भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको उहाँले बताउनुभएको छ । सरकारले हनिमुन बिताइसके पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा देशमा अझै राजनीतिक अस्थिरताको खेल कायमै रहेको भन्दै उहाँले एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरु गर्ने जिम्मेवारी रहेको बताउनुभयो । ‘कर्णाली सरकारलाई एमालेले विश्वासको मत दिनु विशेष परिस्थितिको उपज हो,’ पत्रकार सम्मेलनका क्रममा उहाँले भन्नुभयो , ‘राजनीतिमा वस्तुगत परिस्थिति र सन्तुलन हुने भएकाले प्रदेश संसदीय दल र प्रदेश कमिटीले गरेको निर्णय विशेष परिस्थितिको उपज हो ।’