जनता टाइम्स

२२ चैत्र २०७९, बुधबार १२:४३

सभामुख घिमिरे र अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि कुम्पुलाबीच भेटवार्ता


काठमाडौं, २२ चैत । सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गर्नुभएको छ । नेपालको विवाद समाधानका लागि काठमाडौं आउनुभएको अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग आज भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गर्नुभएको हो ।

‘विपत्, महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको छ,’ उहाँले भन्नुभयो,‘तर आन्तरिक विवाद छिटोभन्दा छिटो समाधान हुन आवश्यक छ ।’ सभामुख घिमिरेले रेडक्रसको केन्द्र र कतिपय जिल्लाहरुमा समयमा निर्वाचन नभएको बताउँदै अन्तर्राष्ट्रियरुपमा नै ख्याती कमाएको संस्था अपारदर्शिताबाट टाढै बस्नुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय रेडक्रसकी नेपाल प्रतिनिधि क्रिष्टिना कुम्पुलाले रेडक्रस ऐनबारे जिज्ञासा राख्नुभएको थियो । आफू नेपाल आउनुको उद्देश्य पनि यहाँको विवाद समाधान नै रहेको बताउँदै उहाँले जवाफदेहिता र पारदर्शितामा सम्झौता नहुने बताउनुभयो । सभामुख घिमिरेले रेडक्रस सञ्चालनका लागि ऐन आवश्यक भए सरकारसँग छलफल गर्न आग्रह गर्दै संसदले आवश्यक सहजिकरण गर्ने जानकारी दिनुभयो ।