जनता टाइम्स

२४ चैत्र २०७९, शुक्रबार ०८:५५

सरकारको न्युनतम साझा कार्यक्रम ‘कागजी घोडा’मात्रै हो – राप्रपा प्रवक्ता श्रेष्ठ


काठमाडौं, २४ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम अपूर्ण र भ्रम छर्ने खालको ‘क्वाँटी’ दस्तावेज भएको टिप्पणी गर्नुभएको छ । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसहितको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको प्रवक्ता श्रेष्ठले बताउनुभएको छ ।

‘अकारण अघिल्लो सत्ता गठबन्धन बदलेर अस्थिरताको मार्गतर्फ अघि बढेको प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागवण्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने “क्वाँटी”दस्तावेज हो,’ प्रवक्ता श्रेष्ठले भन्नुभएको छ, ‘देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम मार्फत जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न सकेन।’ अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पनि पूर्वाग्रही ढंगबाट उपेक्षा गरिएको उहाँले टिप्पणी गर्नुभएको छ ।

राप्रपाले भ्रष्टाचारको विषयलाई कडाइ र प्राथमिकताका साथ उठाए पनि सरकरले ‘कदम चाल्ने’ मात्रै भनेर सामान्यीकरण गरेको भन्दै प्रवक्ता श्रेष्ठले आपत्ति जनाउनुभएको हो । ‘साझा कार्यक्रममा उल्लेखित कतिपय विषय कार्यान्वयन हुनेमा आशंका छ जसबाट यो साझा कार्यक्रम केवल ‘कागजी घोडा’मात्रै हुने ठोकुवा गर्न सकिन्छ।’ प्रवक्ता श्रेष्ठले भन्नुभएको छ ।