काठमाडौं, २५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल महिला (अनेम) संघलाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ । आज राजधानीमा आयोजित अनेमसंघको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेसँग सम्बन्ध रहेको अनेमसंघलाई कसैले धक्का दिन नसक्ने बताउनुभयो । उहाँले अनेमसंघमा रहनुभएको सम्पूर्ण महिलालाई सशक्त र सचेत बनाउनुपर्ने पनि उल्लेख गर्नुभयो ।
त्यस्तै उहाँले नेकपा एमाले अहिलेको अवस्थामा रहनका लागि अनेमसंघ र महिला दिदिबहिनीहरुको महत्वपूर्ण भूमिका भएको भन्दै प्रशंसा समेत गर्नुभयो । सम्मेलनमा अध्यक्ष ओलीले पार्टीका सम्पूर्ण जनवर्गिय संगठमा रहेका महिला साथीहरुले योगदान गरेको स्मरण गर्नुभयो । त्यस्तै कार्यक्रममा उहाँले संगठनमा पुरानो र नयाँ पुस्ताको संयोजन गरेर नयाँ पुस्तालाई मिलाउँदै जानुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पुरानाहरुले आफूलाई अनुभवि ठान्ने, म भइन भने भोली विहान घाम झुल्किएला र ? म भइन भने घाम अस्ताउँछ र ? मेरो जस्तो उमेर हुँदैहुँदै गएपछि यस्ता भ्रम आउँछ तर त्यस भ्रमबाट मुक्त हुनुपर्छ । अनेमसंघ गतिशिल छ, हामी गतिशिल छौं र नयाँ र पुरानाको कम्पेयर गरेर संस्थालाई अगाडि बढाउँनुपर्छ ।’ ‘पुराना विस्थापित हुँदै जान्छन, नेचुरल ढंगले त्यो स्विकार्दै जानुपर्छ,’ उहाँले थप्नुभयो ।













प्रतिक्रिया दिनुहोस्