रुपन्देही, २५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सही सदुपयोग गर्न सकेमा देशको व्यापार घाटा कम गर्न सकिने र अर्थतन्त्रमा देखिएको संकटलाई सही बाटोमा हिंँडाउन सकिने बताउनुभएको छ । नेपालमा आर्थिक संकट कम गर्ने उपायका रूपमा ढुंगा तथा गिट्टी बालुवा बेच्न र वनमा रहेको काठको सही सदुपयोग गर्नुपर्ने उहाँले प्रस्ताव राख्नुभएको छ ।
यसअघि एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री तथा गिरी मन्त्री हुँदा यस खालको प्रस्ताव सरकारले तयारी गरे पनि पछि विवादपछि रोकिएको थियो । तत्कालीन समयमा संघीय सरकारमा एमाले नेतृत्वको सरकारले यसलाई प्रस्तावको रूपमा अगाडि बढाए पनि अगाडि बढ्न सकेको थिएन । आज पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २२ औ साधारण सभामा विभिन्न क्षेत्रका व्यवसायीहरूलाई मुख्यमन्त्री गिरीले यस्तो प्रस्ताव राख्नुभएको हो ।
मुख्यमन्त्री गिरीले भन्नुभयो,‘हामीले हामीसँग जे छ त्यो बेच्नु पर्दछ, उपयोगविहीन भएर बसेका भीर र पहाड काटेर ढुंगा बेच्न सकेमा व्यापार घाटा कम हुने तथा यातायात व्यवसायीले पनि ढुवानीको काम पाउने र स्थानीयले समेत रोजगार पाउने अवस्थाको सृजना हुनेछ ।’ ‘राज्यले गर्ने काम विभिन्न सेवा क्षेत्रको काम निजी क्षेत्रका व्यवसायीहरूले गरे पनि राज्यले त्यसलाई कदर गर्न नसकेको स्वीकार गर्दै उनले अब निजी क्षेत्रको साथमा सरकार अगाडि बढ्ने बताउनुभयो ।
मुख्यमन्त्री गिरीले यातायात क्षेत्रका समस्यालाई सम्बोधन गर्न आफू र प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउँदै नीतिगत सुधारका लागि आवश्यक बुँँदाहरु लिएर एउटै टेबलमा बसेर छलफलका लागि आव्हान गर्नुभएको छ । कार्यक्रममा बोल्ने यातायात क्षेत्रका अगुवाहरूले आफूहरूले समयअनुकूलको भाडा पाउन नसकेको गुनासो गर्दै भारतीय ट्रकहरूले निर्बाध रूपमा ओभरलोड बोकेर गुड्दा नेपाली ट्रक व्यवसायीहरू धाराशायी हुनुका साथै सडक भत्केर राष्ट्रको लगानी डुबेको बताउनुभएको थियो ।
कार्यक्रममा संस्थागत धारणा राख्दै अध्यक्ष यमप्रसाद पाण्डेले विशुद्ध नेपाली निजी क्षेत्रबाट सञ्चालित सार्वजनिक यातायात क्षेत्रले रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको भएपनि राज्यको स्पष्ट कानुन नहुँदा यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले तत्कालीन सरकारले यो क्षेत्रलाई तहसनहस गरी व्यवसाय नै चलाउन नसकिने अवस्थामा पुर्याएको गुनासो गर्नुभयो ।












प्रतिक्रिया दिनुहोस्