जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार १६:४८

एआइजीको फूली लगाउँदै आइजीपी कुँवरको निर्देशन : उच्च व्यावसायिक निष्ठाका साथ जिम्मेवारी पूरा गर्नाेस


काठमाडौं, चैत २६ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) मा बढुवा भएका चार जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक बशन्त कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच चारै जना एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिको सिफारिश अनुसार सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा गरेको थियो । उहाँहरुलाई आज एआइजीको फुली लगाइएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिनुका साथै इमान्दारिपुर्वक काम गर्न निर्देशन दिनुभयो । सरकारले पदोन्नति गरी राज्यले अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसर दिएकोले प्रहरी अधिकृतहरूले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गर्ने अवसरको रूपमा लिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी संगठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक, निष्ठा र कर्तव्य वोध गरी कर्तव्य निर्वाह गर्न जरूरी रहेको पनि आइजीपी कुँवरले बताउनु भयो । ‘सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू मनग्यै छन् । तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका दैनन्दिन कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु,’ आइजीपी कुँवरले भन्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै उपल्ला विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताउनुभयो । साथै सम्भावित अराजकता लगायतका गतिविधिको आँकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उहाँले प्रहरी अधिकृतहरूलाई निर्देशनसमेत दिनुभयो ।

सवल नेतृत्वबाट कार्यशैलीमा नवीनता आउने र सेवा प्रवाहमा गुणस्तरीयता अभिवृद्धि भई मातहत कर्मचारीको उत्प्रेरणामा बढोत्तरी आउने अपेक्षा गरिएको चर्चा गर्दै उहाँले आफ्नो काँधमा आएको जिम्मेवारीलाई उच्च व्यावसायिक निष्ठाका साथ पूरा गर्न निर्देशन दिनुभयो ।

समारोहमा एआइजी सन्दिप भण्डारीले पदोन्नतिसँगै राष्ट्रसेवा र कर्तव्यवोधको थप उर्जा प्राप्त भएको तथा संगठनको श्रीवृद्धि र छवि उच्च गराउन सदैव प्रतिवद्ध रहने विचार व्यक्त गर्नुभयो । संगठनप्रति सदैव इमान्दार, बफादार र पेशागत व्यावसायिक निष्ठा कायम राखी प्रचलित कानुनबमोजिम विधिको शासन कायम गर्न गराउन सदैव कृत संकल्पित रहने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।