जनता टाइम्स

४ बैशाख २०८०, सोमबार १३:१९

सुविधासम्पन्न होटेलसँंगै बढ्यो रारामा पर्यटक आगमन


मुगु,४ वैशाख । रारा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो, रारा ताल । राराको यही विशिष्ट सौन्दर्यमा रमाउनकै लागि हजारौं डलर खर्च गरेर विदेशीहरु घुम्न आउने गर्छन् । विदेशी मात्र होइन, आन्तरिक पर्यटक पनि त्यतिकै लालायित छन् रारालाई आफ्नो आँखामा सजाउन । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँं सुविधासम्पन्न होटलहरु पनि खोल्न थालिएका छन् ।

रारा भिलेज रिसोर्ट प्रालि सञ्चालकमध्येका एक मुगुका जननिर्वाचित पूर्व सांसद् गोपाल बम मुगुमा पर्यटकलाई आकर्षित गर्न रिसोर्ट सञ्चालनमा ल्याएको सुनाउँनुहुन्छ । रारामा पर्यटकलाई आकर्षित गर्न विगतमा रारा महोत्सवलगायतका कार्यक्रम गरेको स्मरण गर्दै उहाँले सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा बर्सेनि हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याएको जनाउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोवासका लागि स्तरीय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्ने जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको उहाँको भनाई थियो । स्थानीय जनतालाई समेत उनीहरुको जीवनस्तर एवं दैनिकीमा सुधार ल्याउन योगदान गर्ने लक्ष्य रहेको उहाँको दावी छ । रारा तालको जैविक विविधता अवलोकन गर्न सन् २०१४ मा १ सय ४१ पर्यटक रारा पुगेको तथ्यांक छ । सन् २०१५ मा थप पर्यटक तानेको छ ।

पर्यटकको सङ्ख्या बढने क्रम निरन्तर जारी नै छ । रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका छन् अहिले । नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकिन्छ भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ । बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेको त्यहाँं रिसोर्ट सञ्चालकमध्येका एक इन्जिनियर कृष्णभक्त दुवाल बताउँनुहुन्छ ।

उहाँका अनुसार रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या बर्षेनी उल्लेख्य रुपमा बढ्दै गएको तथ्यांक छ । यो क्रम अत्यधिक रुपले बृद्धि हुदै गएको पनि देखिन्छ । अत्यन्त मनोरम र प्राकृतिक दृष्यहरुले राराको भ्रमणलाई पटक–पटक जान मन गर्ने भएकोले सख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाईको रोजाइमा पर्ने स्थान पनि हो । यही विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको उहाँले जनाउनुभयो ।

रारा घुम्न पुगेका बैंकर प्रदीप सुवेदी भन्नुहुन्छ, ‘रारा तालको भ्रमणमा जानेहरुलाई बसोवास र खानाका लागि ताल किनारमा रहेका अस्थाई प्रकृतिका रहेका उपलव्ध सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका थिएनन् भने पर्यटकका लागि आवश्यक अन्य सेवाहरु त शून्य प्राय रहेका थिए तर अहिले त्यस्तो छैन ।’ बर्सेनि बढ्दो दरमा रहेका पर्यटकका लागि होटलको व्यवस्था भैसकेको उहाँ बताउँंनुहुन्छ ।

पर्यटकको बसाइँ लम्ब्याउन रारा वरपर तीव्र गतिको इन्टरनेट सेवा, विद्युत्, डुङ्गा, साइकिलिङ सेवाका लागि पहल गरिनुपर्ने आवश्यकता उहाँ औंल्याउँंनुहुन्छ । पोखराबाट रारा घुम्न पुगेका पुष्पराज त्रिपाठीले राराताल दुई तीन पटक घुमेर भरपुर आनन्द लिन सक्ने सुनाउनुभयो । केही दिनको विदामा यहाँं घुम्न आउन सके वर्षभरिको तनाव हलुका हने अनुभब पनि उहाँले सुनाउनुभयो ।

रारा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले हाललाई ५ करोडको पुँंजीमा २० कोठाको हलसहित रिसोर्ट सञ्चालनमा ल्याइएको जनाउनुभयो । मुगुको रारामा २० रोपनी जग्गाको क्षेत्रफलमा रिसोर्ट रहेको अध्यक्ष शाहले जानकारी गराउनुभयो । मगुको रारा ताललगायतको पर्यटन प्रवर्द्धन गरी स्थानीयको जीवनस्तरलाई उकास्न सहयोग पुयाउने उद्देश्यले रिसार्ट सञ्चालनमा ल्याएको उहाँले जनाउनुभयो ।