काठमाडौं, भदौ ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाहरु सत्य दवाउने खेलमा लागेको भन्दै शसक्त प्रतिवाद गर्न अपिल गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द शाह (बालेन) नेतृत्वको सरकार अराजकताबाट आएको बताउँदै ओलीले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले सत्ताधारीहरूबाट सामाजिक सञ्जालमा राम्रो कुरा लेख्ने बितिक्कै आक्रमण हुने गरेको बताउनु भयो । यो सरकार ५ वर्ष नटिक्ने बताउँदै ओलीले थप्नुभयो, ‘हरेकको मनमा त्रास छ । एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ । सही कुरा बोल्नै हुँदैन, हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ।’
एमाले अध्यक्ष ओलीले अराजकताबाट आएकाहरूलाई देश जिम्मा लगाउन नसकिने बताउनु भयो । लोकतन्त्र अपहरित भएको, संविधान मिचिएकाले अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुपर्नेमा उहाँको जोड छ । पूर्वप्रधानमन्त्री ओलीले बालेन सरकारको आतंक र धम्कीसामू डराउन नहुने पनि बताउनु भयो ।
‘यो कुन शक्तिको आडभरोसामा चलेको छ मतलब छैन । यी तत्वहरूसँग हामी डराउँदैनौँ र डराउनुहुन्न पनि । हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो। बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र ?’ एमाले बागमती प्रचार बिभागले नगरकोटमा आजबाट आयोजना गरेको पार्टीको जनसङ्गठन समन्वय संयन्त्र कार्यशालाको उदघाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो ।
उहाँले रास्वपालाई भोट हालेर बहुमत दिएकोमा छोटो समयमा नै जनतालाई पश्चात्ताप भइसकेको तथ्यलाई गहिरोसँग आत्मसात गर्नुपर्ने पनि बताउनु भयो ।


















प्रतिक्रिया दिनुहोस्