जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार १७:१२

एमाले स्थायी कमिटी बैठक सम्पन्न : मंसिर पहिलो साता राष्ट्रिय भेला, १३ जना केन्द्रीय सदस्यमा मनोनीत


काठमाडौं, असोज २४ । नेकपा एमालेको स्थायी कमिटीको प्रथम बैठकले आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने, वडा तथा पालिका अधिवेशन गर्ने र १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्नेलगायतका निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ गतेदेखि तीन दिनसम्म बसेको बैठकले पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी कार्यक्रमसम्बन्धी विभिन्न निर्णय गरेको हो।

बैठकको प्रारम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत हुनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो।

बैठकले आगामी मंसिर २६ गते पार्टीका वडा कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। त्यसैगरी, नगर तथा गाउँपालिका कमिटीहरूको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ।

पार्टीको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गरिने एमालेले जनाएको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

वडा तथा पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी, मधेस प्रदेशसभामा पार्टीका सभासद् जैनब खातुनको निधनपछि रिक्त रहेको समानुपातिकतर्फको स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको छ।

पार्टी अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका सम्बन्धमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रूपान्तरण गर्ने र अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णयसमेत बैठकले गरेको छ।

बैठकले १३ जनालाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ। मनोनीत हुनेहरूमा सिर्जना राई (भोजपुर), सावित्री अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टङ्क आङ्बोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहनुभएको छ।

पार्टीको स्थायी कमिटीको प्रथम बैठकले गरेका निर्णयहरू प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिएको हो।