जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार १८:४७

प्रदेश सरकार बिगतभन्दा पृथक ढंगले अघि बढेको छ, समस्यामा गाँठो पार्ने होइन समाधान गर्छ : मुख्यमन्त्री थापा


काठमाडौं, असोज २४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बिगतमा भन्दा फरक शैलीमा प्रदेश सरकार अघि बढेको जानकारी दिनुभएको छ ।

फास्टफुड एसोसियशन नेपालको २१औं साधरण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथीका रुपमा सबेधन गर्दै मुख्यमन्त्री थापाले समस्या बढाउने भन्दा समस्या समाधानमुखी भएर सरकार अघि बढेको बताउनु भयो ।

‘अहिले प्रदेश सरकार बिगतका सरकारभन्दा अलिक पृथक ढंगबाट अहिले हामी काम गर्दैछौं । समस्या बल्झाउने होइन, समाधान दिने मुख्य लक्ष्य राखिएको छ,’ मुख्यमन्त्री थापाले भन्नुभयो, ‘फास्टफुड क्षेत्रमा जेजस्ता समस्या छन, कानूनमा समस्या भए ल्याउनोस सुझाव, त्यसअनुसार गर्न तयार छ । हामी सवै मिलेर समस्यामा गाँठो पार्ने भन्दा पनि फुकाउने कामतिर लाग्नुपर्छ । प्रदेश सरकार त्यही काम गरिरहेको छ ।’

उहाँले ब्यवसायलाई उत्साहित बनाउने काम आफूहरुले गर्ने तर ब्यवसायीले पनि मर्यादामा रहेर आफ्नो ब्यवसाय सञ्चालन गर्नुपर्ने बताउनु भयो । फास्टफुड मानिसको स्वास्थ्यसँग जोडिएको कारण नाफामुखी मात्र नभएर स्वास्थ्यमुखी बन्न सुझाव दिनुभयो ।

उहाँले फास्टफुड क्षेत्रले मुलुकको आर्थिक र रोजगारीको क्षेत्रमा ठूलो योगदान दिइरहेको भन्दै यसलाई थप गुणस्तरीय बनाउन आवश्यक तालिम दिनुपर्ने अवस्था रहेमा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो । ‘गुणस्तरीय सेवा दिन तालिम आवश्यक छ भने ल्याउनोस प्रस्ताव, प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ,’ मुख्यमन्त्री थापाले भन्नुभयो ।

यस्तै मुख्यमन्त्री थापाले नेपाली मौलिक खानालाई प्राथमिकता दिन पनि सुझाउनु भयो । ‘बिदेशी खाना होइन, नेपालकै आफ्नो स्थानीय मौलिक खाना खुवाउने काम गरेर हामी आफ्नो क्षेत्रको समृद्धिमा योगदान गर्ने नायक बनौं, अरु देशको खानाको प्रवर्धन नगरौं,’ थापाको भनाई थियो ।

यस्तै मुख्यमन्त्री थापाले राजनीतिमा सुधार ल्याउन अव राजनीतिकर्मी कुनै न कुनै ब्यवसायमा जोडिएको हुनुपर्ने बताउनु भयो । आफ्नो ब्यवसाय नहुँदा राजनीतिकर्मी चन्दादाताको दवावमा पर्ने र गलत काम गर्न बाध्य हुने बिगतको तथ्य औंल्याउदै थापाले अव सुधारका लागि पहिला आफ्नो ब्यवसाय हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा फास्टफुड ब्यवसायीले गरे ग्यास अभाव र प्रशासनिक झण्झट अन्त्यको माग गरेका थिए । शनिवार काठमाडौंमा आयोजित फास्टफुड एसोसियशन नेपालको २१औं साधरण सभामा ब्यवसायीहरूले नेताहरूले फास्टफुड तथा होटल ब्यवसायले नेपालको अर्थतन्त्र, रोजगारी सिर्जना र उद्यमशीलता तथा सेवा क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भएपनि सरकारी दृष्टि सदैव नकारात्मक परेको गुनासो गरे । यस्तै उनीहरुले ब्यवसायलाई अझ ब्यवस्थित, मर्यादित, गुणस्तरीय, प्रतिस्पर्धी र दिगो बनाउने अठोट गरे ।

कार्यक्रममा अध्यक्ष होमराज श्रेष्ठ, महासचिव राकेश श्रेष्ठ, होटल, पूर्वअध्यक्ष केशरबहादुर श्रेष्ठ, एसोसियशन अफ नेपाल (हान) का महासचिव साजन शाक्य, भीमप्रसाद आरण, सानोबाबु खत्री, बिष्णुकुमार श्रेष्ठ र थरिप्रसाद कँडेललगायतका बक्ताहरूले पछिल्लो समय भइरहेको ग्यास अभाव र प्रशासनिक झण्झटप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । आफूहरू ब्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्न लागिपरेको र कानूनअनुसार काम गरिरहेको भन्दै ब्यवसायीहरूले लगानीकर्ता र कर्मचारीमाथि प्रशासनिक कुदृष्टि हुन नहुने बताउनु भयो ।

कार्यक्रममा गोरखा ब्रुअरी प्रालिका सेल्स एण्ड मार्केटिङ निर्देशक काजीमान सुब्बा र हाउस अफ राजकर्णिकारकी कार्यकारी निर्देशक मिनू राजकर्णिकारले शुभकामना दिनुभएको थियो । महासचिव राकेश श्रेष्ठले सञ्चालन गर्नुभएको साधरणसभामा उपमहासचिव तथा कार्यक्रम संयोजक भीमप्रसाद आरणले स्वागत गर्नुभएको थियो ।