जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार १८:२१

फास्टफुड व्यवसायीले गरे ग्यास अभावको तत्काल अन्त्य र प्रशासनिक झण्झटमा सुधारको माग


काठमाडौं, असोज २४ । फास्टफुड व्यवसायीहरूले व्यवसायी हतोत्साहित बनाउने काम अविलम्ब बन्द गर्न माग गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित फास्टफुड एसोसिएसन नेपालको २१औँ साधारण सभा तथा विभिन्न चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा व्यवसायीका नेताहरूले यस्तो धारणा राखेका हुन ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा प्रमुख अतिथि रहनुभएका कार्यक्रममा व्यवसायीका नेताहरूले फास्टफुड तथा होटेल व्यवसायले नेपालको अर्थतन्त्र, रोजगारी सिर्जना र उद्यमशीलता तथा सेवा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भए पनि सरकारी दृष्टि सदैव नकारात्मक परेको गुनासो गरे । यस्तै उनीहरूले व्यवसायलाई अझ व्यवस्थित, मर्यादित, गुणस्तरीय, प्रतिस्पर्धी र दिगो बनाउने अठोट गरे ।

कार्यक्रममा अध्यक्ष होमराज श्रेष्ठ, महासचिव राकेश श्रेष्ठ, होटेल, पूर्वअध्यक्ष केशरबहादुर श्रेष्ठ, एसोसिएसन अफ नेपाल (हान) का महासचिव साजन शाक्य, भीमप्रसाद आरण, सानोबाबु खत्री, विष्णुकुमार श्रेष्ठ र थरिप्रसाद कँडेललगायतका वक्ताहरूले पछिल्लो समय भइरहेको ग्यास अभाव र प्रशासनिक झण्झटप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

आफूहरू व्यवसायलाई मर्यादित रूपमा सञ्चालन गर्न लागिपरेको र कानुनअनुसार काम गरिरहेको भन्दै व्यवसायीहरूले लगानीकर्ता र कर्मचारीमाथि प्रशासनिक कुदृष्टि हुन नहुने बताउनु भयो ।

कार्यक्रममा गोरखा ब्रुअरी प्रालिका सेल्स एण्ड मार्केटिङ निर्देशक काजीमान सुब्बा र हाउस अफ राजकर्णिकारकी कार्यकारी निर्देशक मिनू राजकर्णिकारले शुभकामना दिनुभएको थियो ।

महासचिव राकेश श्रेष्ठले सञ्चालन गर्नुभएको साधरणसभामा उपमहासचिव तथा कार्यक्रम संयोजक भीमप्रसाद आरणले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको लागि अग्रिम शुभकामना दिनुभएकाे थियाे ।