भक्तपुर, असोज २४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले पत्रकारहरूले गुगलमा उपलब्ध सूचनामा मात्रै सीमित नभई घटनास्थलमै पुगेर वास्तविकता बुझेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ। उहाँले पत्रकारिता जनप्रतिनिधिलाई खबरदारी गर्ने, समाजका विकृति उजागर गर्ने र देशको विकास तथा समृद्धिमा योगदान पुर्याउने महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो।
शनिबार क्रियाशील पत्रकार मञ्च भक्तपुरको १६औँ वार्षिक साधारणसभा, छैटौँ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले पत्रकारहरूलाई तथ्यमा आधारित, निष्पक्ष र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। “पत्रकारहरूले गुगलमा उपलब्ध सूचनामा मात्रै सीमित नभई भूगोलमै पुगेर वास्तविकता बुझेर मात्रै समाचार लेख्नुपर्छ,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री थापा मगरले बागमती प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापना काम अघि बढाइरहेको जानकारी दिनुभयो। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।
उहाँले बागमती प्रदेशका ९१ प्रतिशत नागरिकका घरमा खानेपानी सुविधा पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको जानकारी दिँदै प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको बताउनुभयो।
संघीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्यलाई चिर्न आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले तीनै तहका सरकार बिच समन्वय र सहकार्य गरेर विकास निर्माण तथा विपद्पछिको पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको बताउँदै उहाँले यस अभियानमा सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा क्रियाशील पत्रकार मञ्च भक्तपुरले मुख्यमन्त्री थापा मगरलाई सम्मान गरेको थियो। मञ्चका अध्यक्ष रमेश गिरीले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो।
स्थानीय तहको विकासमा योगदान पुर्याउनुभएको भन्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा तथा भक्तपुर अस्पतालको विकास र बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि योगदान दिनुभएको भन्दै प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई पनि सम्मान गरिएको थियो।
त्यसैगरी, भोटेकोशी बाढीमा परी निधन हुनुभएका अग्रज पत्रकार तथा नयाँ पत्रिका दैनिकमा कार्यरत टेकराज थामीलाई मरणोपरान्त क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। नगद पाँच हजार रुपैयाँसहितको उक्त पुरस्कार उहाँकी पत्नी तथा पत्रकार कालिका खड्कालाई प्रदान गरिएको हो।
भक्तपुरमा रहेर कान्तिपुर टेलिभिजनमा कार्यरत तथा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई स्वर्गीय लक्ष्मीमाया कासिछ्वा क्रियाशील पत्रकारिता पुरस्कारअन्तर्गत नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले प्रदेश सरकारले पत्रकारहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जानकारी दिँदै त्यसका लागि नेपाल पत्रकार महासंघको सिफारिस आवश्यक पर्ने बताउनुभयो।
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पत्रकारहरूले समाचार सङ्कलन र सम्प्रेषण गर्दा दलगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले पछिल्लो १० वर्षमा सूर्यविनायकको विकासमा उल्लेखनीय प्रगति भएको बताउनुभयो।
मञ्चका अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक पुष्करराज बुढाथोकी र सचिव अञ्जना शिल्पकारले पत्रकारहरूको पेसागत विकास, पहिचान र अधिकारका लागि मञ्च सक्रिय रहँदै आएको बताउनुभयो।

यसै बिच क्रियाशील पत्रकार मञ्च भक्तपुरको आज सम्पन्न १६ औ वार्षिक साधारण सभा, छैटौँ केन्द्रीय अधिवेशनले रमेश गिरी ‘आशा’ को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्करराज बुढाथोकी, सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन हुनु भएको छ । मञ्चको सदस्यहरूमा विपिन ढुङ्गाना, संगीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन हुनु भएको छ ।
निर्वाचित भए पछि अध्यक्ष गिरीले क्रियाशील रहेका पत्रकारहरूको साझा संगठनको रूपमा मञ्चलाई बिस्तार गर्ने र पत्रकारहरूको हकहितका सवालमा आवाज उठाउने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्