जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार २०:००

केपी ओलीले विदेशी शक्तिका सामु हात उठाएको भए सिंहदरबार जल्ने थिएन : कैलाश ढुङ्गेल


रामेछाप, असोज २४ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले एमालेले देशको विकासमा गरेको योगदानलाई कमजोर आङ्कलन गर्न नहुने बताउनुभएको छ। उहाँले पार्टीभित्रको आन्तरिक विवादमा अल्झिनुभन्दा एकताबद्ध भएर अघि बढ्न र निराश नभई पार्टीलाई पुनः बलियो बनाउन लाग्नुपर्ने धारणा राख्नुभयो।

शनिबार नेकपा एमाले रामेछाप जिल्ला कमिटीको सचिवालय विस्तारित बैठकमा बोल्दै अध्यक्ष ढुङ्गेलले पार्टीको नेतृत्वमाथि प्रश्न उठाएर मात्रै संगठन बलियो नबन्ने बताउनुभयो। उहाँले नेतृत्व परिवर्तनका लागि पार्टीको विधि र प्रक्रिया पालना गर्नुपर्ने उल्लेख गर्दै आन्तरिक एकतामा जोड दिनुभयो। “देशमा एमालेले जति विकासको काम कसैले गरेको छैन। देश बनाउने पार्टी एमालेको शिर किन झुक्ने ? निराशाका कुरा गर्नुपर्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “खरानेहरूले एकपटक जिते भन्दैमा अब सधैँ उनीहरूले नै जित्छन् भन्ने नठानून्। पार्टीलाई राम्रो बनाउने हो, जितेर आउने हो।”

अध्यक्ष ढुङ्गेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएर पार्टी निर्माण गर्न नसकिने बताउँदै नेतृत्व चयन र परिवर्तन दुवै विधिसम्मत प्रक्रियाबाट हुनुपर्ने धारणा राख्नुभयो। “आफ्नै नेतृत्व माथि औँलो उठाएर पार्टी बन्दैन। पार्टीको नेता बन्ने विधि र प्रक्रिया हुन्छ। विधि प्रक्रियाबाट नेतृत्वमा आइन्छ र विधि प्रक्रियाबाटै हटाइन्छ,” उहाँले भन्नुभयो, “नेतालाई हटाएर पार्टी बन्छ भन्ने परिकल्पना नगरौँ। साझा शत्रुविरुद्ध एक भएर लडौँ, आफैँभित्र लडेर केही पाइँदैन।”

गत भदौ २३ र २४ गतेका घटनालाई नेपालको इतिहासको कालो दिनका रूपमा व्याख्या गर्दै अध्यक्ष ढुङ्गेलले त्यसबारे आफ्नो राजनीतिक धारणा पनि राख्नुभयो। उहाँले ती घटनालाई “दलाई लामाको सेनासँग नेपालको सुरक्षा संयन्त्रले हारेको दिन” को संज्ञा दिनुभयो।

उहाँले पार्टी अध्यक्ष ओलीले नेपालको चुच्चे नक्सा जारी गरेका कारण विदेशी शक्तिको निशानामा परेको दाबी गर्दै एमाले विदेशी शक्तिसामु नझुक्ने बताउनुभयो। “केपी ओलीले विदेशी शक्तिका सामु हात उठाएको भए सिंहदरबार जल्ने थिएन। केपी ओलीले नेपालको चुच्चे नक्सा जारी नगरेको भए उहाँलाई हटाइने थिएन,” उहाँले भन्नुभयो, “बरु मृत्युवरण गरिन्छ, तर विदेशी शक्तिका सामु एमाले झुक्दैन।”

‘एमाले व्यक्ति पुनर्गठन होइन, आत्मपुनर्गठनमा लाग्नुपर्छ’

बैठकमा नेकपा एमाले वाग्मती प्रदेश कमिटीका उपसचिव रमेश आचार्यले गत फागुनको निर्वाचनको परिणामबारे समीक्षा गर्दै पार्टीले बदलिएको राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताउनुभयो।

उहाँले संविधान र वर्तमान व्यवस्था स्थापनामा योगदान नगरेका शक्तिहरूले निर्वाचनमा अप्रत्याशित विजय प्राप्त गरेको टिप्पणी गर्दै त्यसले लोकतन्त्रवादी शक्तिमा निराशा पैदा गरेको धारणा राख्नुभयो।

“यो बेला ठोस वस्तुस्थितिको समीक्षा गरेर एमाले अघि बढ्नुपर्ने अवस्था छ। सरकारले प्रतिशोधपूर्ण राजनीतिक यात्रा सुरु गरेको छ। त्यसैले राष्ट्रिय राजनीतिमा फेरबदल ल्याउन आवश्यक छ,” उहाँले भन्नुभयो।

आचार्यले एमाले अब व्यक्ति पुनर्गठनमा नभई आत्मपुनर्गठनमा केन्द्रित हुनुपर्ने बताउनुभयो। विगतका कमजोरी हटाउँदै पार्टीलाई पुनर्गठित गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले एमालेले ‘मिसन पार्टी जागरण अभियान’ सञ्चालन गर्ने जानकारी दिनुभयो। “अब गुटबन्दी र पक्षधरताको होइन, पार्टी निर्माणको काम गर्नुपर्ने छ,” उहाँले भन्नुभयो।

‘पार्टी सदस्यसँग नियमित सम्पर्कमा रहनुपर्छ’

बैठकमा जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम कँडरियाले पार्टीलाई चलायमान बनाउन सदस्यहरूसँग नियमित सम्पर्कमा रहनुपर्ने बताउनुभयो। उहाँले पार्टी जागरण अभियानलाई निरन्तरता दिँदै प्रवासमा रहेका पार्टी सदस्य, सम्पर्क कमिटी र भूगोलमा रहेका संगठनबीच सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

“तलका कमिटीलाई माथिकाले र माथिका कमिटीलाई तलकाले गाली गरेर केही काम छैन। सबै नेताहरू परिचालित भएर वडासम्म पुग्नुपर्छ,” उहाँले भन्नुभयो, “चुनाव लड्ने भूगोल त वडा नै हो। पार्टी सदस्यहरूको गिरेको मनोबल उठाउने गरी एमालेले अभियान सुरु गर्दै छ।”

उहाँले काठमाडौंमा रहेका पार्टीका नेता तथा कार्यकर्ता र जिल्लाको संगठनबीच समन्वय बढाउनुपर्ने बताउँदै पार्टी जागरण अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

‘नागरिकसँगको सम्बन्ध विस्तार गरौँ’

सचिवालय सदस्य रुद्रमणि नेवारले पार्टीका नेता तथा कार्यकर्ताले बोलीमा संयमता अपनाउँदै नागरिकसँगको सम्बन्ध विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँले वस्तुस्थितिको सूक्ष्म विश्लेषण गरी अघि बढ्न र पार्टीका कमजोरी सुधार गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

नागरिकमा वर्तमान सरकारप्रति वितृष्णा बढ्न थालेको उल्लेख गर्दै उहाँले त्यसबाट राजनीतिक लाभ लिने सोचमात्र नराखी आफ्ना कमजोरी सुधारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो।

जिल्ला सल्लाहकार समितिका अध्यक्ष कृष्णहरि अधिकारीले पार्टीलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्ने बताउँदै पार्टी जागरणका कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

मन्थली नगरपालिका कमिटीका अध्यक्ष रामबाबु घिमिरेले निर्वाचनमा देखिएको लहर सधैँ कायम नरहने बताउनुभयो। उहाँले एमाले कमजोर नभएको उल्लेख गर्दै प्रत्येक वडामा पहिलो मत प्राप्त गर्ने लक्ष्यसहित नेता तथा कार्यकर्ता परिचालित हुनुपर्ने धारणा राख्नुभयो।

“हुइयाँले सधैँ काम गर्दैन। गएको निर्वाचनमा जस्तो हुइयाँ आयो, अहिले त्यो गइसकेको छ। पार्टी कमजोर भएको छैन,” उहाँले भन्नुभयो, “आफ्नो वडामा पहिलो मत ल्याउने गरी लागिपरौँ। पार्टीलाई एक नम्बर बनाउन सकिन्छ।”

बैठकमा सहभागीलाई स्वागत गर्दै जिल्ला कमिटीका उपाध्यक्ष होतराज ढकालले बदलिएको राजनीतिक परिस्थितिको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताउनुभयो। उहाँले केन्द्रको निर्देशन कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी छलफल र निष्कर्षसहित अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम कँडरियाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश कमिटीका सदस्यहरु, जिल्ला सचिवालयका सदस्य, पालिका कमिटीका अध्यक्ष तथा सल्लाहकार, निर्वाचन, लेखा कमिटीका अध्यक्षहरु लगायतकाे सहभागिता रहेकाे नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो।