काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रले अझैपनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको आरोप लगाउनुभएको छ । शनिवार काठमाडैंमा बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको समेत बताउनु भयो । प्रधानमन्त्री निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य मुक्त हुनुपर्ने बताउनु भयो । उहाँले दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने जिकिर गर्नुभयो । उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ले भन्नुभयो, ‘निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य पनि मुक्त हुन जरुरी छ ।
निजी क्षेत्रले पनि राज्यलाई यो हामीलाई मात्रै दबाउने वा अठ्याउने वा निचोर्ने संस्था हो भन्ने सोचबाट मुक्त हुन जरुरी छ । राज्य पनि निजी क्षेत्रलाई दबाउने भन्ने मानसिकतामा हुन्छ भने निजी क्षेत्र पनि मौका पाएसम्म राज्यलाई करमा हुन्छ की अन्य के मा हुन्छ छल्ने र अघि जाने भनेको जस्तो मानसिकता अझै बदलिएको छैन । यो सोचमा बदलाव नआइकन हुँदैन ।’ प्रधानमन्त्री दाहालले अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको बताउनु भयो । उहाँले राजनीति र समाज नै राष्ट्र, समाज र आम जनताको दीर्घकालीन हीततिर भन्दा तत्काल नाफा नोक्शातिर केन्द्रित हुने गरेको आरोप लगाउनु भयो । उहाँले राजनीतिमा पनि राजनीतिक एजेण्डातिर भन्दा आवेगतिर जाने खतरा पैदा भइरहेको उल्लेख गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्