जनता टाइम्स

१२ बैशाख २०८०, मंगलवार २१:३२

बारामा अब १३ हजार ५ सय ९९ मत गन्न बाँकी, अहिलेसम्म कसले कति पाए ?


काठमाडौं, १२ बैशाख ।  बारा निर्वाचन क्षेत्र नम्बर २ मा अब एउटा नगरपालिकाको मात्र मत गन्न बाँकी छ। बाराका डिएसपी पुरूषोत्तम पाण्डेका अनुसार केही समयअघि मात्र महागढीमाईको मत गनिसकिएको हो। अब पचरौता नगरपालिकाको मात्र मत गन्न बाँकी छ। पचरौतामा १३ हजार ५ सय ९९ मत खसेको थियो। यहाँको मत केही बेरपछि गन्न सुरू हुनेछ।

बारा–२ मा कुल ६८ हजार ८८७ मत खसेको थियो। यो निर्वाचन क्षेत्रमा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन्। यहाँ सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच मुख्य प्रतिस्पर्धा छ।

नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट अरूण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल उम्मेदवार छन्। यहाँ सत्ता गठबन्धनले जसपाका यादवलाई सघाएको छ।पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवको अग्रता कायमै छ।

महागढीमाईको मत गनिसक्दासम्म यादवले २२ हजार ५५२ मत पाउनुभएको छ। त्यस्तै कुशवाहाले १९ हजार ९२३ मत पाउनुभएको छ । यादव कुशवाहाभन्दा २ हजार ६२९ मतले अगाडि हुनुहुन्छ । त्यस्तै एमालेका पुरूषोत्तम पौडेलले ६ हजार ५०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६८१ मत पाउनुभएको छ । आम जनता पार्टीका अरूण ज्ञवालीले २ हजार ६१५ मत प्राप्त गर्नुभएको छ।