काठमाडौं, बैशाख १५ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकूहरुलाई २÷२ लाख रुपैयाँ बाँड्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले यसबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ । आर्थिक संकटमा रहेकाले वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले ४,८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।
चालु आर्थिक वर्षमा १ अर्ब ४० करोड छुट्याए पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार गम्भीर नभएको भन्दै उहाँले आपत्ति पनि जनाउनु भयो । ‘सत्य निरुपण तथा मेलमिलापको काम थाति राखिएको छ, त्यतितिर चिन्ता छैन । तर देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदैछ,’ गिरीले भन्नुभयो ।
अन्मिनले पुनः प्रमाणीकरण गर्दा २ हजार ४५१ जना को थिए भन्ने यकिन नभएको र तीनको नाममा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको पनि उहाँले बताउनु भयो । प्रमुख सचेतक गिरीले माओवादी नेतृत्वलाई सोध्नुभयो, ‘त्यो पैसा कहाँ गयो ?’
एमाले प्रमुख सचेतक गिरीले शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिने, तर राज्य कोषबाट दोहन गर्ने काम किमार्थ स्वीकार्य नहुने उदघोष पनि गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्