जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार १५:०८

बैशाख २७ सम्म ब्यवस्थापन नगरे दूरसञ्चार प्रदायकको तार काटने काठमाडौं महानगरको चेतावनी


काठमाडौं, बैशाख २२ । काठमाडौं महानगरपालिकाले दूरसञ्चार सेवा प्रदायक संस्थाले जडान गरेका केवल नेटवर्कका तार व्यवस्थापन नगरे काटिदिने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै वैशाख २७ गतेसम्म तार व्यवस्थापन गर्न निर्देशनसमेत दिएको छ । सूचनामा दिइएको म्याद सकिएका दिनसम्म व्यवस्थापन नगरे आफूहरूले तार काट्ने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

गुजुल्टो परेका तारमा आगलागी हुने खतरा रहेकाले जनताको जिउधन असुरक्षित भएको महानगरको भनाई छ । प्रवक्ता मानन्धरका अनुसार ३२ वटै वडाका तार वडा तहबाटै काटिने छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख १७ गते स्थानीय तहलाई अन्धाधुन्ध तार नकाट्न आग्रह गर्दै पत्राचार गरेको थियो।

मन्त्रालयका स्थानीय समन्वय शाखाका प्रमुख चिरञ्जिवी नेपालका अनुसार स्थानीय तहले शहरी सौन्दर्यको नाममा इन्टरनेट तथा टेलिफोनको तार अन्धाधुन्ध काटेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले वैशाख १२ गते यस्तो कार्य बन्द गर्न सहयोग मागेको थियो।

महानगरले वैशाख १२ गते केवल नेटवर्कहरूलाई अनावश्यक तार हटाउन र चाहिने तार राम्ररी रेखाङ्कन गरी राख्न अनुरोध गरेको थियो।