जनता टाइम्स

२३ बैशाख २०८०, शनिबार ०९:५९

हिमपहिरोमा ३ जनाको मृत्युपछि शोकमा डुब्यो सिंगो गाउ


दार्चुला, बैशाख २३ । हिमपहिरोमा परेर मृत्यु भएका ३ जनाको शव भारतको बाटो भएर शुक्रबार साँझ जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ। दुर्घटना भएको चौथो दिन मृतकको शव दार्चुलाको सदरमुकाम खलंगा ल्याइपुर्याइएको हो।

बिहीबार दिउँसो ३ बजे ब्यास गाउँपालिकाको भोलिनबाट हिँडे पनि बाटो अवरुद्ध हुँदा बिहीबार शव नेपाल ल्याउन नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो । भारतको निजङ भन्ने ठाउँमा पहिरो आउँदा बाटो अवरुद्ध भएको हो। दार्चुलाको ब्यास गाउँपालिका-१ भोलिन वनमा यार्सा टिप्न गएकाहरू हिम पहिरोमा परी १२ जना पुरिएका थिए। ७ जनाको सोही दिन सकुशल उदार गरिएको थियो।

दोस्रो बिहान उद्धारकार्यमा गएकाले तीन जनाको शव फेला पारे। २ जना अझै बेपत्ता छन्। डोटीको जोरायल गाउँपालिका–२ बुडरका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै अज्ञात छ। मृत फेला परेका ३ जनामा २ जना दुहु गाउँपालिकाकै आमा छोरा हुन। हिमपहिरोमा परेर एकै परिवारका आमा र छोराको ज्यान गएपछि अहिले धारी गाउँ शोकमा डुबेको छ।

धारीका १८ वर्षीय प्रवीण कुँवरले गत चैत्र १७ देखि २९ गतेसम्म सञ्चालन भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा जिल्ला सदरमुकाम खलंगाको महेन्द्र नमुना माध्यमिक विद्यालयमा दिएका थिए। परीक्षा सकिएपछि फुर्सदिला बनेका उनी आमा कमलासँग यार्सा टिप्न भोलिन वनमा पुगेका थिए।