जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार २२:२५

लडाकु शिविरमा भएको घोटालाको अनुसन्धान गरी आफूलाई चोखो प्रमाणित गर्न प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको चुनौती


काठमाडौं, २४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वदेशीलाई शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न दोषीलाई निष्पक्ष छानबिन दण्डित गर्नुपर्ने बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको प्रथम एकता अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले यस्ता जघन्य आपराधिक कार्य क्षम्य नहुने बताउँदै राजनीतिक शक्ति केन्द्रका आडमा भएका नक्कली शरणार्थी काण्ड प्रभावित हुन सक्ने र आरोपी उम्कन सक्ने खतरा रहेको शंका गर्नुभयो ।

अध्यक्ष लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने समेत बताउनुभयो । उहाँले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई लडाकु शिविरमा भएको भनिएको घोटालाको पनि अनुसन्धान गरी आफूलाई चोखो प्रमाणित गर्न चुनौती दिनुभयो । क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्‍यो । तर भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइदैन यो कुरालाई’ उहाँले भन्नुभयो ।

प्रहरीले गरिरहेको अनुसन्धान कुनै पनि बहानामा रोक्न नहुने बताउँदै अध्यक्ष लिङ्देनले मुलुकमा भइरहेका संस्थागत भ्रष्टाचार अन्त्य नगरी सुशासन कायम हुन नसक्ने र देश समृद्ध हुन नसक्ने बताउनुभयो । दुई दिनसम्म काठमाडौँमा चल्ने अधिवेशनमा पार्टीका पदाधिकारी तथा शीर्ष नेतृत्वले शुभकामना दिनुभएको थियो । देशभरबाट करिब एक हजार एक सय प्रतिनिधि सहभागी अधिवेशनमा राजनीतिक र महिलाका मुद्दा विषयक प्रतिवेदन र विधान मस्यौंदा समितिले प्रस्तुत गरेको विधानमा सहभागीबाट छलफल तथा संशोधनसहित पारित गरेपछि नयाँ कार्यसमितिको निर्वाचन गरिनेछ । यही वैशाख २५ गते नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका छ । पार्टीले अवलम्बन गरेको हिन्दू राष्ट्रलगायत मुद्दामा साङ्गठनिक गतिविधि गर्दै आएको उक्त सङ्गठनले समसामयिक राजनीतिक विषयवस्तुमा छलफलका साथै महिला हक, हित अधिकारका लागि कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष अन्जना रावलले जानकारी दिनुभयो ।