जनता टाइम्स

२५ बैशाख २०८०, सोमबार १८:१९

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कियोस, निर्दाेष नफसोस भनेर स्पष्ट निर्देशन दिएको छु : गृहमन्त्री


काठमाडौं, बैशाख २५ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले प्रहरीलाई निश्पक्ष भएर दवावबिना छानविन गर्न निर्देशन दिएको बताउनु भएको छ ।

केही प्रहरी अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री श्रेष्ठबाटै पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित उहाँकी पत्नी मञ्जु खाण र कांग्रेस नेतृ डा. आरजु देउवा राणाको बिषयमा छानविन नगर्न भनेको समाचार प्रकाशन भएपछि गृहमन्त्री श्रेष्ठले आफूले कसैको दवाव र प्रभावबिना निश्पक्ष भएर छानविन गर्न स्पष्ट निर्देशन दिएको र प्रधानमन्त्रीले समेत निश्पक्षतामै जोड दिनुभएको बताउनु भयो ।

जनताटाइम्स डटकमले आज मात्रै बालकृष्ण खाण–मञ्जु र आरजुमाथि छानविन नगर्न प्रधानमन्त्री–गृहमन्त्रीले नै प्रहरीलाई निर्देशन दिएको समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि सम्पर्कमा आउनु भएका गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले सही ढंगले मार्गनिर्देश गरेको पनि बताउनु भयो ।

उहाँले जनताटाइम्स डटकमसँग भन्नुभयो, ‘प्रहरीलाई स्पष्ट निर्देशन दिएको छु–दोषी जोकोही होस, नउम्कियोस । निर्दाेष नफसोस भनेर ।’