काठमाडौं, २६ वैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषी जोगाउन प्रमुख तीन दलका शीर्ष नेता लागेको भन्दै सांसदहरुले आशंका व्यक्त गर्न थालेका छन् । जसअनुसार आज बसेको प्रतिनिधिसभा बैठकमा यस प्रकरणबारे बोलेका अधिकांश सांसदहरुले दोषी जोगाउने कार्य नहोस् भन्दै सरकारको ध्यानाकयर्षण गराए ।
ठाकुर गैरे, तेजुलाल चौधरी, डा. तोसिमा कार्की, देवेन्द्र पौडेल, प्रेम सुवालसहितका सांसदले खबरदारी गर्दै दोषी जोगाउने कार्य नगर्न सरकारसहित सबैलाई आग्रह गर्नुभयो । देवेन्द्र पौडेलले प्रधानमन्त्रीलाई कुनै पनि दबाबमा नपरेर यस घटनाको छानबिन गरेर दोषीलाई कानुनी कारबाही गर्न खुट्टा नकमाउन आग्रह गर्नुभयो ।
नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेका भेटवार्ताप्रति दोषी जोगाउन हो कि भनेर आशंका व्यक्त गर्नुभयो । आज पनि शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणबारे भएको छानबिन ट्रेलर मात्र भएको अभिव्यक्ति दिनुभएको थियो । सोही प्रसंग जोडेर सांसदद सुवालले प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता भ्रष्टाचारी र ठगीलाई कारबाही गरेको फिल्म देखाउनका लागि हो भनेर प्रश्न गर्नुभयो । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँले भन्नुभयो, ‘सभामुख महोदयमार्फत प्रधानमन्त्रीलाई यो संसदमा स्पष्ट गराउनुपर्ने केही विषय राख्न चाहन्छु ।
नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अर्बौँ ठगी गर्नेहरू को को हुन ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि ?’ नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ नेताहरु मुछिएपछि उनीहरुलाई जोगाउन खोजिएको हो कि भन्ने आशंका पैदा गराइरहेका बेला सांसद सुवालले सो प्रश्न गर्नुभएको हो ।
उक्त प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उहाँ फरार हुनुभएको छ । रायमाझीका छोरा पक्राउ परी अनुसन्धान भइरहेको छ । साथै सोही प्रकरणमा कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उहाँकी पत्नी मञ्जु, आरजु राणा देउवालगायतको नामसमेत मुछिएको छ ।













प्रतिक्रिया दिनुहोस्